गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै कंडेलले दिए सहकारीका माफियालाई कारबाहीकाे चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता देवेन्द्रराज कंडेलले निवर्तमान सरकारको उपलपुथलका कारण व्यवस्थामाथि नै जनताले प्रश्न उठाउने परिस्थितिनिर्माण भएकाले दुई ठूला दल मिल्नुपरेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कंडेलले कांग्रेस–एमालेको विचार नमिले पनि जनतामा बढेको व्यवस्थामाथिको वितृष्णालाई सम्बोधन गर्न आफूहरू यो निर्णयमा पुगेको बताए ।

‘कांग्रेस र एमालेबीच बिचार नमिल्दै गर्दा पनि विगतको सरकारको उथलपुथल र परिवर्तनले गर्दाखेरी आमजनताले यो सिस्टममाथि प्रश्न उठाउन लागेका छन्’, कंडेलले भने ।

कांग्रेस नेता कंडेलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लिक्षित गर्दै सहकारीको रकम ठूलो मात्रामा हिनामिना गर्ने व्यक्तिसमेत सत्तामा पुगेको बताएका छन् ।

कांग्रेसका नेता कंडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेलाई दोहोरो नागरिकता र दोहोरो पासपोर्टमा उन्मुक्ति दिइएको असन्तुष्टि जनाए ।

सहकारी ठगी प्रकरणमा उन्मुक्ति खोज्न लामिछाने गृहमन्त्री बनेको नेता कंडेलले बताएका छन् ।

‘तपाई हामी कोही भएको भए दोहोरो नागरिकतामा जेल जानुपथ्र्यो । दोहोरो पासपोर्टमा थुनामा जानुपथ्र्यो’, कांग्रेस नेता कँडेलले भने, ‘आज सहकारीको विभिन्न ठाउँमा आर्थिक अपचलन भयो । धेरै जना थुनामा परिराखेका छन् ।’

उनले भने, ‘जुन व्यक्तिले अब सरकारमा जाँदैनौं भन्यो, फेरि किन गृह मन्त्रालय नै चाहियो ? गृह मन्त्रालय कस्तो हो भने जति पनि आपराधिक क्रियाकलापहरू छन्, अनियमितता र भ्रष्टाचारहरू त्यो फाइल खोल्न र दवाउन सहज ठाउँ हो ।’

कांग्रेस–एमाले नेतृत्वको सरकारले सहकारीसँग सम्बन्धित माफियाहरू सबैलाई जेल पठाउने कांग्रेका नेता कंडेलले चेतावनी दिएका छन् ।

कंडेलले अहिले गृहमन्त्री लामिछानेलाई जति, पीडा अहिले कसैलाई पनि नरहेको बताएका छन् । हिजो सदनमा दिएको अभिव्यक्तिबाट गृहमन्त्री रवि लामिछानेमा कति छटपट्टी छभन्ने कुराको पुष्टि भएको बताएका छन् ।

Published : Saturday, 2024 July 13, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया