सभापति देउवाद्वारा बाढी, पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त, उद्धार र राहतका लागि अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकमा दुई वटा बस पहिरोले पुरिएर यात्रुहरू बेपत्ता भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

शुक्रबार सभापति देउवाले विज्ञप्ति जारी गरेर भने, ‘नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशुली नदीमा आज शुक्रबार बिहान खस्दा करीब ६ दर्जनभन्दा बढी यात्रुहरूको अवस्था अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’

सभापति देउवाले भने, ‘सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।’

‘युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेत सरकारलाई आग्रह गर्दछु’, देउवाले भने ।

‘बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारहरूलाई समन्वय र ब्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीका साथ कार्य गर्न अपील गर्दछु’, देउवाले भने ।

सभापति देउवाले भने, ‘स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको छ ।’

‘पार्टीका साथीहरूलाई व्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु’, सभापति देउवाले भने ।

Published : Friday, 2024 July 12, 3:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया