अनियमितताबारे प्रदीपसँग उपसमितिले लियो बयान, जवाफ दिन नसकेपछि टापकसे

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भबाटै अनियमितता भएको संसदीय उपसमितिको प्रारम्भीक निष्कर्ष निकालेको छ ।

विमानस्थलमा भएको अनियमितता छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिद्वारा गठित संसदीय उपसमितिले स्थलगत अध्ययनपछि अनियमितताको निष्कर्ष निकालेको हो ।

उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक समेत रहेका विमानस्थल आयोजनाका तत्कालीन प्रमुख प्रदीप अधिकारीका साथै कर्मचारीसँग प्रश्नोत्तर र स्पष्टीकरण लिने काम गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलका आर्थिक, प्राविधिक, भौतिक, संरचनात्मक र सामाजिक पक्षका समस्या तथा चुनौती, प्राविधिक हिसाबले यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको विमानस्थल हो वा होइन भन्ने आधार, विमानस्थल नजिकै रहेको पानी ट्यांकीको उचाइँ २० मिटर नघटाएसम्म विमानस्थल सञ्चालनमा अवरोध हुने वा नहुने, रनवेको उचाइँ थप १० फिट हुनुपर्ने सम्बन्धमा उपसमितिले प्राधिकरणका महानिर्देशक अधिकारीलगायतसँग जिज्ञासा राखेको छ ।

पुरानो विमानस्थलको उपयोगिता, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धमा हालसम्म भएका प्रयास, वित्त व्यवस्थापनका पक्ष, रणनीतिक साझेदार सम्बन्धमा भएका प्रयास, आर्थिकरूपमा तिर्नुपर्ने साँवा ब्याजको अवस्था, विमानस्थल सञ्चालनमा कति वर्षपछि ब्रेक इभन प्वाइन्टमा आउने आकलन गरिएको भन्नेबारे उपसमितिको जिज्ञासा छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि पनि यसको संरचनात्मक पक्षजस्तो भीआईपी कक्षको शौचालय अति साँघुरो र एउटा मात्र राखिएको, रनवे साँघुरो र छोटो रहेको जस्ता समस्या देखिएकोबारे उपसमितिले जनाएको छ ।

यी विषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले उपसमिति समक्ष स्पष्ट जवाफ दिन सकेनन् । विमानस्थल निर्माण आयोजना प्रमुख समेत रहिसकेका उनी सोमबार बैठकको बीचबाटै उठेर हिँडेका छन् ।

पोखरामा मंगलबार पत्रकारहरूसँग उपसमितिका संयोजक राजेन्द्र लिङदेनले विमानस्थल निर्माणमा प्रारम्भबाटै अनियमितता भएको र केही त्रुटीहरू रहेको भन्ने अहिले पनि देखिएको बताएका छन् ।

उनले सुरुमा १५ अर्ब रुपियाँ लागत अनुमान गरिएकोमा २२ अर्बको ऋण सम्झौता हुनु र अहिले लगानी बढेर २७–२८ अर्ब रुपियाँ पुग्नु ठीक हो कि होइन भन्ने कुन निकायले परीक्षण गर्‍यो भन्ने प्रश्नमा प्राधिकरणको तर्फबाट प्रष्ट जवाफ नआएको बताएका छन् ।

उनले बिजनेस प्लान बिना आयोजना सुरु गरिएको बताए । अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै लिङ्देनले वाइड बडी जहाज आउन सक्दैन भन्ने अहिले थाहा भएको बताएका छन् ।

संयोजक लिङ्देनले भने, ‘न्यारो बडीले पनि लोड घटाएर आउनुपर्छ भन्ने विषय उठेको छ, त्यसमा पनि अस्पष्ट जवाफ आएको छ । त्यसकारणले अनियमितताका प्रशस्त आशंका छन् ।’

लिङ्देनले रन वेको सन्दर्भमा प्राविधिक टोली ल्याएर सम्झौताअनुरुप काम भए÷नभएकोबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता भएको बताए ।

‘छानबिनमा जोजो अनियमितताम संलग्न भएको देखिन्छ उनीहरूलाई कारबाही हुनुपर्छ र अब उप्रान्त योजनावद्ध रुपमा यसप्रकारका कुनै पनि अनियमितता गर्न नपाउने व्यवस्था हुनुपर्छ,’ संयोजक लिङ्देनले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आब २०७४/७५ बाट सुरु गरी आब २०७७/७८ मा सम्पन्न गर्ने गरी सुरु लागत २२ अर्ब तोकिएकोमा २ वर्ष ढिलो गरी आब २०७९/८० मा आयोजना सम्पन्न गर्ने तालिका तोकिइयो । जसमा २५ अर्ब ३४ करोड रुपियाँ खर्च लागत देखाइयो । आयोजना सम्पन्न भएपछि विमानस्थल क्षेत्र बाहिर उत्तरतर्फ ४ किलो मिटर पर मणिपाल, सेती नदी र काहुँखोलादेखि ५ सय हेक्टर जग्गा वर्षातको समयमा पानी बग्ने, भित्री सडक र पृथ्वी राजमार्गको नाला र सिंचाइको नहर बगेर आउने पानी विमानस्थल क्षेत्रमा पस्न गई विमानस्थल सञ्चालनमा समस्या भएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

विमानस्थल बनाउँदा अन्यत्रबाट पुरुवा ल्याएर भर्नुपर्नेमा त्यहीको जमिन खनेर सम्याइँदा रन वे ६ मिटर गहिरो भएको बताइएको छ । रन वे गहिरो हुँदा समेत अन्तर्राष्ट्रिय उडान प्रभावित हुने प्राविधिकले बताउँदै आएका छन् । रन वे गहिरो हुँदा पश्चिमपट्टि डेढ किलोमिटर पर बनाइएको खानेपानी ट्यांकीको उचाइँ समेत घटाउनुपर्ने अवस्था आएको छ ।

पोखरा विमानस्थल चीन सरकारको २२ अर्ब ऋण लगानीमा निर्माण भएको विमानस्थल हो । विमानस्थलबाट अहिले कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

Published : Tuesday, 2024 July 9, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया