कुनातिर देखिए प्रदीप, पोखरा विमानस्थलमा भएको भ्रष्टाचार र अनियमिततामा उपसमितिद्वारा छानविन शुरु

पोखरा । अनियमितता, भ्रष्टाचार, त्रुटि लगायतका कार्य भएको भन्दै संसदीय छानविन उपसमितिको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन गरेको छ ।

सोमबार उपसमितिको टोलीले सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । उपसमितिका संयोजक राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता लगायतका विषयमा अन्तरक्रिया गरेको हो । त्यस क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समेत सहभागी भएका छन् ।

विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार, त्रुटि तथा अनियमितता समेत भएको हुन सक्ने उजुरीपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेर छानबिन थालेको छ ।

उपसमितिका संयोजक लिङ्देन, सदस्यहरू, मुख्यमन्त्री पाण्डे र सरोकारवालाहरूको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा महानगरपालिका वडा नं. २६ को रिठ्ठेपानीडाँडाको समेत स्थलगत अवलोकन गरेको छ ।
त्यस क्रममा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा र स्थानीयले आफ्ना समस्याका बारेमा गुनासो गरेका छन् ।

उपसमितिका संयोजक लिङ्देनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमिताका विषयमा छानबिन प्रक्रिया अगाडि बढाएको भन्दै कोही दोषी देखिए कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विमानस्थल सञ्चालन नभएसम्म पर्यटकीय राजधानीका रूपमा पोखराले यथोचित लाभ लिन नसक्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थल निर्माणपूर्व व्यावसायिक योजना बनाउन नसक्दा अहिले समस्या आएको बताए ।

उपसमितिले गरेको अन्तरक्रियामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आयोजना प्रमुख रहेका प्रदीप अधिकारीको पनि उपस्थिति रहेको थियो । हाल नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा रहेका अधिकारी उपसमितिले गरेको अन्तरक्रियामा एउटा कुनामा कालोनिलो भएर बसेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण निकै विवादित छवि बनाएका अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान समेत दिइसकेका छन् । कुनै पनि बेला अख्तियारले महानिर्देशक अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्न सक्छ ।

विमानस्थल निर्माणका क्रममा त्रुटि तथा अनियमितता भएको हुनसक्ने भन्दै संसदको सार्वजनिक लेखा समितिमा परेको उजुरीका आधारमा गत असारमा उपसमिति गठन गरिएको थियो ।

उपसमितिको सदस्यमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले छन् । आले र महानिर्देशक अधिकारीबीच निकै राम्रो सम्बन्ध छ । आलेले अधिकारीलाई बचाउन चलखेल गर्छन् की भनेर विभिन्न खालका अड्कलबाजी भएका छन् ।

महानिर्देशक अधिकारीले पूर्वमन्त्री आलेले आफूलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको घोटाला, अनियमितता, त्रुटि लगायतका प्रकरणबाट बचाउने छन् भनेर विश्वास लिएको चर्चा छ ।

Published : Monday, 2024 July 8, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया