विमानस्थल निर्माणमा घोटाला गर्ने ‘ठूलोमाछा’ खोज्न उपसमिति पोखरामा ल्याण्ड, प्रेम-प्रदीपबीच साँठगाँठको आशंका

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता र घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिएका बेला सार्वजनिक लेखा समितिले पनि अध्ययन शुरु गरेको छ ।
विमानस्थलको अध्ययन, छानविन र अनुसन्धानका लागि प्रतिनिधि सभाअन्तर्गतको लेखा समितिद्वारा गठन गरिएको उपसमितिको टोली पोखरा आइपुगेको छ ।
पोखरा विमानस्थलबारे घोटाला र अनियमितता लगायतका विषयमा धेरै कुराहरू उठेपछि राप्रपाका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति गठन भएको छ । लेखा समितिले असार १३ गते उपसमिति गठन गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भएको थियो । यो विमानस्थल निर्माण हुँदादेखि नै विभिन्न विवादमा पर्दै आएको छ । चीनबाट मिटरव्याजमा ऋण लिएर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा आयोजना प्रमुख प्राधिकरणका हालका महानिर्देशक अधिकारी नै रहेका थिए ।
प्राधिकरणका महानिर्देशक अधिकारीले आफै आयोजना प्रमुख बनेर बनाएको पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय उडान गराउन सकेका छैनन् । बरु महानिर्देशक अधिकारी आफै दानविनको दायरमा पारेका छन् ।
विमानस्थल निर्माणका क्रममा अनियमितता समेत भएको हुन सक्ने उजुरी सार्वजनिक लेखा समितिमा परेको छ । उजुरी परेपछि लेखा समितिले पनि छानविन गर्न लागेको छ ।
उपसमितिले निर्माणका फाइलहरू अध्ययन गर्नेछ । स्थलगत अध्ययन समेत गर्नेछ । विमानस्थल निर्माणमा ठूलो रकम अनियमितता भएको आरोप छ ।
महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनअनुसार पोखरा विमानस्थल २५ अर्ब ३४ करोड निर्माण सम्पन्न भएको थियो । पोखरा विमानस्थल दुई वर्षमा सक्ने गरी २२ अर्ब लागतमा बनाइने टुंगो लागेको थियो । पोखरा विमानस्थल बनाउन पूर्वनिर्धारितभन्दा थप २ वर्ष अवधि थपेर लागत बढाइएको थियो ।
उपसमितिको सदस्यमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले छन् । आले र महानिर्देशक अधिकारीबीच निकै राम्रो सम्बन्ध छ । आलेले महानिर्देशक अधिकारीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालाबाट बचाउन चलखेल गर्छन् की भनेर आशंका पनि उब्जिएको छ ।
आले उपसमितिको सदस्य बनेपछि महानिर्देशक अधिकारी निकै खुसी भएका छन् । आले र अधिकारीबीच व्यापारिक साझेदारी पनि रहेको चर्चा प्राधिकरणभित्र छ ।
पोखरा विमानस्थल निर्माणसम्बन्धी लिङ्देनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया