एमालेले आफ्नो पुराना कुर्सीहरू छाडेपछि सन्नाटा

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरू प्रतिपक्षीको सिटमा बसेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरू नेपाली कांग्रेसको छेउमै बसेका छन् । संसद सचिवालयले एमालेका सांसदहरूलाई प्रतिपक्षतर्फको बेञ्चमा बस्ने व्यवस्था मिलाइदिएका हुन् ।

एमालेले औपचारिक रुपमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रतिनिधि सभामा एमालेका ७८ जना सांसद छन् । एमालेका सांसदहरू सत्ता पक्षको बेञ्चबाट एक्कासि प्रतिपक्षको बेञ्चमा बसेपछि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री दाहाललाई सबैभन्दा धेरै पीडा भएको छ ।

एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । जसपाका प्रतिनिधि सभामा ७ जना सांसद छन् ।

प्रधानमन्त्री दाहालको सरकार अल्पमतमा परेका छन् । अल्पमतमा परे पनि दाहालले विश्वासको मत लिन लागेका छन् ।

प्रधानमन्त्री दाहालले असार २८ गते संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

नेपाली कांग्रेस र एमालेले गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेका छन् । कांग्रेस र एमालेको सहमतिमा एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सम्झौता छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा एमालेका सांसदहरूले सत्तापक्षको कुर्सी अर्थात् पुरानो कुर्सी छाडेर प्रतिपक्षको कुर्सीमा पुगेपछि संसदमा सन्नाटा जस्तो देखिएको थियो ।

Published : Sunday, 2024 July 7, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया