तनहुँमा पहिरोमा ४ जनाले ज्यान गुमाएको र क्षतिबारे कांग्रेस सांसद भण्डारीद्वारा सदनमा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले तनहुँ जिल्लामा अविरल वर्षाबाट बाढी र पहिरो जाँदा चार जनाको निधन भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद भण्डारीले पहिरोमा परेर घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका र रिसिङ गाउँपालिकामा पहिरोमा परेर शनिबार ४ जनाको मृत्यु भएको छ । १०/१२ जना सर्वसाधारण घाइते भएको सांसद भण्डारीले बताए ।

उनले भने, ‘तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ अन्तर्गत काउरे भन्ने ठाउँमा शनिबार आएको अविरल वर्षाको कारणले करीव सवा ३ बजेतिर एउटा घर पहिरोले पुरियो ।’

‘पहिरोमा पुरिएका परिवारलाई उद्धार गर्न जाने सन्दर्भमा, उद्धारकै क्रममा सहभागी ३ जनालाई पनि पहिरोले पुरेको छ । अहिले उहाँहरूको शव निकालिसकिएको अवस्था छ’, सांसद भण्डारीले भने ।

‘रिसिङ – १ झापुटार भन्ने ठाउँमा पनि पहिरो र वर्षाको कारणले ढुङ्गा खसेर एकजना कृष्ण पाटा मगर भन्ने गम्भीर घाइते हुनु भएको थियो । उहाँको पनि निधन भएको छ’, उनले भनेका छन् ।

‘शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरे बस्ने ४० वर्षीया हीरा नेपाली, ३७ वर्षीया अनिशा बास्तोला, वर्ष ६२ को श्याम भण्डारी र रिसिङ १ झापुटार बस्ने कृष्ण पाटा मगर समेत चार जनाको निधन भएको छ’, सांसद भण्डारीले भने ।

‘उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै अन्य एक दर्जनभन्दा बढि अति विपन्न समुदायका व्यक्तिहरू घाइते हुनु भएको छ’, भण्डारीले भने, ‘घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

सरकारको तर्फबाट विपत व्यवस्थापनको तयारी हुन नसकेको भन्दै सांसद भण्डारीले ७७ वटै जिल्लामा नागरिकको उद्धारमा तत्काल तयारी गर्न माग गरेका छन् ।

Published : Sunday, 2024 July 7, 3:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया