प्रचण्ड छिटो उथलपुथल गर्न लाग्नुभयो, स्थिरताका लागि एमालेलाई साथ दियौँ : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कांग्रेसले ठूलो छाती बनाएर मुलुकलाई निकास दिन एमालेलाई राष्ट्रिय सहमतिको सरकार बनाउन साथ दिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा खतिवडाले कांग्रेसले एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा दुई वर्षसम्म इमान्दारिताका साथ सहयोग गर्ने बताए । उनले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन र दुई ठूला दल मिलेर सरकार बनाउन लागेको बताए ।

उनले भने, ‘संविधानको ७६(२)अनुसार दुई वा दुईभन्दा बढि पार्टीहरूको सहयोगमा उहाँ (केपी ओली) प्रधानमन्त्री बन्नु हुन्छ ।’

‘संसदबाट बहुमतको दुइटा ठूला लार्जेस्ट पार्टीहरू र प्लस अरु साना पार्टी, सांसदहरूको बहुमतले प्रधानमन्त्री बन्नु हुन्छ’, खतिवडाले भने ।

संविधानको धारा ७६ (३) अन्तर्गतको अबको सरकार हो, ठूलो दलले सरकार बनाउने हो भनेर प्रधानमन्त्रीले हिजो कांग्रेसका नेता शेखर कोइरालालाई बोलाएर भन्नु भयो नी ? भन्ने प्रश्नको जवाफमा खतिवडाले भने, ‘प्रधानमन्त्रीजीले यही कुरा गठबन्धन गर्नुभन्दा पहिला भनेको भए भइहाल्थ्यो नी ? हामीसँग गठबन्धन हुँदाहुँदै रातारात त्योभन्दा पहिला यसरी गरौँ भनेको भए भइहाल्थ्यो नी ।’

‘छिटो उथलपुथल गर्न लाग्नुभयो प्रधानमन्त्रीजी । छिनछिनमा उहाँमा अस्थिरता जाग्यो । यो अस्थिरतालाई यसरी हुँदैन है अब ठूला लार्जेस्ट पार्टी नमिलिकन मुलुक एउटा समृद्धिको बाटोमा जान सकेन, राजनीतिक अस्थिरता भयो, मुलुकभरिका जनताका निराशालाई आशामा परिणत गर्न सकेनौँ’, उनले भने ।

‘कमसेकम अरु केही गर्न नसकेपनि हामी जहिले पनि एउटा अस्थिर सरकार, संविधान र निर्वाचन पद्धतिले रहिरहने भयो । यसलाई अलिकति सुधार गरौँ । सुधार गर्नका लागि ठूला राजनीतिक पार्टीहरू नमिली हुँदैन’, खतिवडाले भने ।

‘सधैँ एउटाले अर्कोलाई गाली गर्ने, अनि नारामात्रै दिने कुराले अब मुलुक परिवर्तन भएन । संविधान जारी भइसकेपछि दुइटा इलेक्सन भइसके । पहिलो इलेक्सनमा झण्डै दुईतिहाई नजिक पुगेको नेकपाको सरकारले पनि संविधान संशोधन र देशको स्थिरताको बाटोमा लैजान सकेन’, सभापति खतिवडाले भने ।

‘त्यसपछि हामी लार्जेस्ट पार्टी छौं, नेपाली कांग्रेस । हामी गठबन्धन गरेर माओवादीसँग आएका हौँ । हामी दुइटाले पनि सरकार निर्माण ग¥यौं । तर, हामी जहिले पनि केमा ? फेकस गर्‍यौं भने मन्त्री को हुने ? प्रधानमन्त्री के हुने ? सरकार कसरी टिकाउने ? तानातान गर्ने, त्यसलाई प्रधानमन्त्री दिने, यसलाई राष्ट्रपति दिने, यसलाई सभामुख दिने कुरामा मात्रै केन्द्रित भयौँ । जनताका मुद्दाहरूसँग केन्द्रित हुन सकेनौँ’, उनले भने ।

‘सानातिना केही फ्ट्याकल छन् भने अब राजनीति गर्दा पार्टी र जातिभन्दा माथि उठेर मुलुकका लागि सोचौँ भनेर दुइटा ठूला पार्टी मिलेर अहिले गठबन्धन निर्माण गरेको हो । यो बिरलै संसारमा हुने पद्धति हो’, खतिवडाले भने, ‘कहिले काहिँ मुलुकलाई निकास दिनका लागि कांग्रेस पहिलो पार्टी छ, ठूलो छाती गरेर अरुलाई भए पनि त्यसको नेतृत्व दिएर मुलुक निर्माण गर्न लागौं । सत्ताको राजनीतिले मात्रै नहुँदो रहेछ । मुलुकका बारे निर्णय गर्ने बेला आयो भनेर निर्णय गरेका हौँ ।’

‘संसदको दोस्रो ठूलो एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । हामीले दुई वर्षसम्म इमान्दारिताका साथ सहयोग गर्छ’, कांग्रेस नेता खतिवडाले भने ।

Published : Sunday, 2024 July 7, 9:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया