कांग्रेस सांसद गुरुङद्वारा बेशिसहर-चामे सडक स्तरोन्नतिका लागि अवलोकन, क्षति भएको ठाउँमा मर्मत गर्न निर्देशन

बेशिसहर । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद टेकबहादुर गुरुङले अविरल वर्षातका कारण मनाङ जिल्ला जोड्ने बेशिसहर–चामे सडकखण्डमा भएको क्षतिबारे स्थलगत अवलोकन गरेका छन् ।

शनिबार लमजुङको बेशिसहरबाट मनाङको चामेसम्मको सडकखण्डको स्थलगत अवलोकपछि नेता गुरुङले सडकखण्डलाई स्तरोन्नति र वर्षाले क्षति गरेको स्थानमा मर्मत गरेर आवागमन सुचारु बनाउन आग्रह गरेका छन् । बेशिसहर–चामे सडकखण्ड स्तरोन्नति गर्दा आवश्यक पर्ने सबै सहयोग गर्न आफू तयार रहेको सांसद गुरुङले बताएका छन् ।

सांसद गुरुङले गण्डकी प्रदेश सभा सदस्य मुनिन्द्रजङ्ग गुरुङ, सडक डिभिजन कार्यालय, दमौलीका कर्मचारी, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, कांग्रेसका नेताहरूसहित वर्षातले क्षति पुर्‍याएको सडकको अनुगमन गरेका छन् ।

अविरल वर्षातले चामे जोड्ने सडकखण्डका विभिन्न स्थानमा क्षति भएको छ । सडक क्षति भएका कारण सवारी आवागमनमा कठिनाइ भएको छ । सांसद गुरुङले छिटोभन्दा छिटो सडक खुलाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

सांसद गुरुङले यो सडकखण्डलाई स्तरोन्नति गर्नका लागि छिटो पहल गर्ने विषयमा पनि सडक डिभिजन कार्यालयलाई आग्रह गरेका छन् ।

सांसद गुरुङले मनाङको ताल गाउँ, धारापानी गाउँ लगायतका स्थानीयसँग छलफल एवं परामर्श पनि गरेका छन् ।

बेशिसहर–चामे सडकखण्ड स्तरोन्नति गर्ने विषयमा सांसद गुरुङले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न समेत गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले वातावरणीय मूल्याङ्कन गरेर पर्याप्त बजेट दिएर बेशिसहर–चामे सडक स्तरोन्नतिका लागि सरकार तयार रहेको बताएका थिए ।

Published : Sunday, 2024 July 7, 7:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया