डुवानमा परेर देउखुरीमा १ जनाको मृत्यु, दुई जना बेपत्ता

लमही । दाङ जिल्लामा बाढी र डुवानमा परेर एकजनाको मृत्यु भएको छभने दुईजना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण शनिबार दाङको देउखुरी उपत्यकाको दक्षिणी भेगमा नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजपुर गाउँपालिका वडा नं. २ बेला बस्ने वर्ष ३४ को दयाराम यादव, वर्ष ४८ को तुलाराम यादव र वर्ष १८/१९ को राजकुमार यादव लमही बजारमा दूध बिक्री गरि घर फर्किने क्रममा लमही नगरपालिका वडा नं. ७ हस्नापुरस्थित राप्ती नदी पार गर्ने क्रममा नदीमा पानीको बहाव बढेर बीचमा फसेका थिए ।

राजकुमार यादवलाई नदीले बगाइ बेपत्ता बनाएको विज्ञप्तिमा उल्लेख छ । राजकुमार यादवलाई बगाएको खबर प्राप्त हुना साथ तत्काल प्रहरी टोली र सशस्त्र प्रहरी वल नेपाल ४१ नं. रिजर्व गण लमही टोली खटिई गई अन्य २ जनालाई डुङ्गाबाट सकुशल उद्दार गरेको छ । राजकुमार यादवलाई खोजी कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

राजपुर गाउँपालिका वडा नं. ५ सालभौडीमा रहेको गंगदी खोलामा ट्याक्टर पल्टिएको भन्ने खबर प्राप्त हुना साथ तत्काल प्रहरी टोली खटिई ट्याक्टरमा सवार सालभौडी बस्ने वर्ष अन्दाजी ५१/५२ को छेदुराम चौधरी खोलामा बगेर बेपत्ता रहेको विज्ञप्तिमा उल्लेख छ । ट्याक्टर निकाल्ने क्रममा ट्याक्टरले च्यापिएर मृत अबस्थामा छेदुराम चौधरी फेला परेका थिए ।

अन्दाजी वर्ष २४ को राजकुमार चौधरी र ट्याक्टरमा बसेका अन्दाजी वर्ष २३ को महेश यादव सामान्य घाइते रहेको अवस्थामा उद्धार गरिएको छ ।

लमही नगरपालिका वडा नं. ८ बग्रपुरस्थित नयाँबस्ती बस्ने वर्ष ६२ को मनियम चौधरी घरबाट बग्रपुर गएकोमा राप्ती नदीको बहाव बढ्न गई बग्रापुर टोलमा बाढी आउँदा बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

तत्काल प्रहरी टोली र सशस्त्र प्रहरी वल नेपाल नं.२९ ज्वालामाई गण भालुवाङबाट टोली खटिई मनिराम चौधरीको खोजी कार्य भइरहेको छ ।

Published : Saturday, 2024 July 6, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया