राष्ट्रिय सहमतिको सरकारबारे कांग्रेसले दियो आफ्ना सांसदहरूलाई जानकारी, प्रचण्डलाई मत नदिने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई नेपाली कांग्रेस संसदीय दलले स्वागत गरेको छ ।

शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले कांग्रेस र एमालेबीच भएको सहमतिलाई स्वागत र समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जनाएका छन् ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष माननीय केपी ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ ।’

कांग्रेसले भनेको छ, ‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय केपी ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेको हुँदा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव कार्य सूचीमा समावेश गर्न माग गर्नु भएकोमा यो बैठक उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दछ ।’

कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बन्न लागेको र एमालेसँग सहमति भएको जानकारी आफ्ना सांसदहरूलाई गराएको छ ।

Published : Saturday, 2024 July 6, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया