लामिछानेका पूर्वपार्टनर जीबीका साथै भरत र देवकुमारलाई पक्राउ गर्न रेड नोटिस

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र हिनामिना गरेर विदेशतिर फरार रहेका गितेन्द्रबाबु राई (जीबी), भरत महर्जन र देवकुमार नेपालीलाई पक्राउ गरेर ल्याउन प्रहरीले रेडकर्नर नोटिस जारी गरेको सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन समितिले जनाएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले जीबी, भरत र देवकुमारलाई पक्राउ गरेर ल्याउन प्रहरीले तयारी गरिरहेको जानकारी आएको संयोजक थापाले बताए । जीबी राई मलेशिया, भरत महर्जन बेलायत र देवकुमार नेपाल भारतमा लुकेर बसेको थापाले बताए ।

जीबी राईले सूर्यदर्शन लगायतका सहकारीको करोडौं रकम अपचलन र ठगी गरेका छन् । तत्कालीन समयमा गोर्खा मिडिया नेटवर्कमा जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेका थिए ।

सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, ललितपुरका अध्यक्ष भरत महर्जनले अर्बौ रकम अपचलन र ठगी गरेर पत्नी, छोरा, छोरीहरूलाई लिएर २/३ वर्ष अगाडि बेलायत भागेका छन् । महर्जन बेलायतमा लुकेर बसेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका महर्जन कहिले एमाले कहिले माओवादी बन्दै आएका थिए । पछिल्लो समय उनी माओवादीमा रहेर राजनीतिक नियुक्ति पनि पाएका थिए ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष देवकुमार नेपाली पनि करोडौं रकम अपचलन गरेर फरार छन् । एमालेका नेता समेत रहेका नेपाली ढोरपाटन नगरपालिकाका मेयर पनि हुन् ।

Published : Friday, 2024 July 5, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया