सुप्रिम सहकारीबाट लामिछानेको गोर्खा मिडियामा ६२ करोड ९९ लाख गएको देखियो : संसदीय समिति

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने तत्कालीन समयमा प्रबन्धन निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालि र त्यससँग सम्बन्धित कम्पनीहरूमा सुप्रिम सहकारीबाट ६२ करोड ९९ लाख रकम गएको जनाएको छ ।

सिंहदराबरमा शुक्रबार बसेको समितिको बैठकमा गृहसचिव एकनारायण अर्याल, आइजीपी बसन्तबहादुर कुँवर र एआइजी श्यामलाल ज्ञवालीसँग लिइएको बयानमा सुप्रिम सहकारीबाट गोर्खा मिडिया र अन्य कम्पनीहरूमा करोडौं रकम गएको देखिएको संयोजक सूयबहादुर थापाले बताए ।

संयोजक थापाले भने, ‘सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ९९ लाख, उसँग अबद्ध रहेका दश वटा कम्पनीमा ५२ करोड रकम प्रवाह भएको लगायतको कुराहरू प्रहरीको अनुसन्धानमा राख्नुभएको छ ।’

उनले भने, ‘सुप्रिम, सूर्यदर्शन, सहारा, स्वर्णलक्ष्मी, सानोपाइला लगायतका सहकारीहरूमा भएको अनुसन्धानका बारेमा पनि जानकारी लिएका छौँ ।’

संयोजक थापाले सहकारीको रकम अपचलन र ठगीमा ११ सय ५० जना प्रतिवादीमध्ये २९४ जना पक्राउ परेको बताए । पक्राउ परेकाहरू अनुसन्धानको दायरामा रहेका उनले बताएका छन् ।
सहकारीको रकम ठगी गरेर ८ सय ५६ जना फरार रहेको तथ्याङ्क प्रहरीका आइजीपी कुँवरले दिएको संयोजक थापाले बताएका छन् ।

‘केही व्यक्तिलाई डिफ्युजन र रेडकर्नर नोटिसको प्रक्रियामा अगाडि बढेर रेडकर्नर नोटिस पनि जारी गरिएको छ’, उनले भने ।

संयोजक थापाले भने, ‘जीबी राई र देवकुमार नेपालीसँग सम्बन्धित कुरा भएको छ । भरत महर्जन, जीबी राई, कुमार रम्तेल, देवकुमार नेपाली, सुवास केसी, र अरु विभिन्न व्यक्तिहरू रोशनी गुरुङ, सहितका व्यक्तिहरूका बारेमा पनि सोधपुछ गरेको छ ।’
उनले सहकारी ठगीमा डमी ऋणीहरू पनि देखा परेको बताएका छन् ।

Published : Friday, 2024 July 5, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया