राजीनामा गोजीमा छ भनेर बिग टक दिने रास्वपाका मन्त्रीहरू प्रचण्ड भेटेपछि स्खलित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्दै ‘बिग टक’ दिएका थिए ।

रास्वपाको स्थापना दिवसका दिन पत्रकारहरूसँग कुरा गर्दै युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ, शिक्षामन्त्री सुमना श्रेष्ठ, श्रमन्त्री डोलप्रसाद अर्याल र स्वयं सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले पनि गोजीमा राजीनामा बोकेर हिँडेको भनेर ठूला गफ दिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमत (ढले)को ४८ घण्टाभन्दा धेरै समय हुँदा पनि रास्वपाका मन्त्रीहरूको राजीनामा आएको छैन ।

बरु रास्वपाका मन्त्रीहरूले बिहीबार बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेट गरेर ३० दिन भए पनि मन्त्रीको झण्डा हल्लाएर सेवासुविधा लिइरहने पक्षमा पुगेका छन् । आदर्शका निकै ठूला गफ दिने रास्वपाका मन्त्रीहरूले ३० दिनका लागि मन्त्री पदमा देखाएको लोभ र लालचलाई लिएर आलोचनाहरू भइरहेको छ ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरूलाई राजीनामा गर्न लगाएको छ ।

तर, रास्वपाका मन्त्रीहरूले सरकारलाई दिएको समर्थन फिर्ता त लिएका छैनन् नै राजीनामा पनि बुझाएका छैनन् । उनीहरूले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि मन्त्री पदबाट राजीनामा दिएर सामान्य नैतिकता पनि देखाउनु पर्ने थियो ।

‘बिग टक’ दिने रास्वपाका मन्त्रीहरू संवैधानिक अधिकार प्रयोग गर्ने भनेर ३० दिनका लागि मन्त्रीको सुविधा लिने पक्षमा पुगेपछि सामाजिक सञ्जालमा उनीहरूको आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा र राजनीतिक विश्लेषकहरूले प्रधानमन्त्री दाहालमा सामान्य राजनीतिक संस्कार र नैतिकता नदेखिए पनि रास्वपाका मन्त्रीहरूमा नैतिकता छ की भनेर हेरेको बताएका छन् ।

संविधानले के भन्छभन्दा पनि विश्वास गुमाएका प्रधानमन्त्रीले राजीनामा दिन ढिलाइ गर्न नहुने सुझावहरू आइरहेका छन् ।

अल्पमतमा परेका प्रधानमन्त्री दाहाललाई दैनिक कार्य सञ्चालनबाहेक अन्य दीर्घकालीन काम गर्ने म्यान्डेट छैन ।

प्रधानमन्त्री दाहालले अनेक छिद्र र दाउ हेरेर अझै सत्ता लम्ब्याउन सकिन्छ की भनेर षड्यन्त्रमा लागेका छन् । दाहालको षड्यन्त्रले काम गर्नेवाला छैन ।

अघिपछि राजीनामा बोकेर हिँडेका छौं भन्ने रास्वपाका मन्त्रीले समेत च्याँखे थाप्न खोजेका छन् । रास्वपाका मन्त्री कतै न कतै च्याँखे थापेर प्रधानमन्त्रीले थप खेल गर्ने सम्भावना छ कि भनेर कुरेर बसेका छन् ।

बालुवाटारबाट निस्कँदा रास्वपाका मन्त्रीहरू स्खलित भएका छन् । उनीहरू मन्त्री पदमा कति आसक्त छन् भन्ने कुराको पुष्टि भएको छ । जति दिन बस्छौँ मन्त्री पदको स्वाद लिएर बस्ने पक्षमा रास्वपाका ढोँगी मन्त्रीहरू देखिएका छन् । उनीहरू गतिविधिले पनि त्यही देखाएको छ ।

Published : Friday, 2024 July 5, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया