सहकारी ठगी काण्डबारे बुझ्न संसदीय समितिले बयानका लागि बोलायो गृहसचिव र आइजीपी

काठमाडौं । संसदीय विशेष छानबिन समितिले सहकारीको रकम अचलन र ठगीका विषयमा बुझ्न गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरलाई छलफलमा बोलाउने निर्णय गरेको छ ।

समितिले शुक्रबारको बैठकमा गृहसचिव अर्याल र आइजीपी कुँवरलाई बोलाएको समितिका संयोजक सूर्य थापाले बताएका छन् ।
थापाले भने, ‘सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरूको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने गरी भोलिका लागि बैठक राखेका छौं ।’

रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन र ठगीमा मुछिएको भन्दै संसदीय छानविन समितिको माग उठेपछि समिति बनेको छ ।
नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सहकारीको वचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति बनेको थियो ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराई र सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेसँग छलफल भएको छ ।

Published : Thursday, 2024 July 4, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया