संघीय मामिला मन्त्रालय र क्रसर व्यवसायीबीच ३ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबीच भएको वार्तामा ३ बुँदे सहमति भएको छ ।

बिहीबार सिंहदरबारस्थित संघीय मामिला मन्त्रालयमा भएको वार्तामा २०७९ माघ ११ गतेको मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको आदेशको उच्च सम्मान गर्दै मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने सहमति भएको छ ।

क्रसर र खानी उद्योगहरू नवीकरणको माग गरेर क्रसर व्यवसायीहरू असार १ गतेदेखि माइतीघर मण्डलामा धर्ना र प्रदर्शन गर्दै आएका छन् । उनीहरूले उदेश्य विपरित रहेका क्रसरलाई नियमभित्र ल्याउनुपर्ने र क्रसर तथा खानी उद्योगहरूलाई दस्तुर लिएर नवीकरणको माग गर्दै आएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, राज्य व्यवस्था तथा सुशासनसमितिका सभापति रामहरि खतिवडा, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभपाति अब्दुल खान, संघीय मामिलिा तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, उद्याग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपाने एवम् प्रतिनिधिहरूको बैठक बसेर निर्माणमुखी सामग्री व्यवस्थापनका सम्बन्धमा महासंघले राखेका मागहरू सम्बन्धमा विस्तृत छलफल गरेको सहमति पत्रमा उल्लेख छ ।

नेपालको संविधान बमोजिम प्राकृतिक स्रोतको बाँडफाँट र उपयोगका साथै निर्माणजन्य सामग्रीको उपयोग र व्यवस्थापनमा विद्यमान समस्या सम्बोधनार्थ मन्त्रालयले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक,२०८० तर्जुमा गरि संसदमा दर्ता गरिसकेको छ ।

उक्त विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा रहेको भन्दै उक्त विधेयक पारित भए पश्चात क्रसर उद्योगको नवीकरण सम्बन्धी वद्यमान समस्या सम्बोधन हुने र निर्माणमुखी सामग्री उत्खनन्, व्यवस्थापन, उपयोग र नियमनमा समेत सहजता हुने भएकोले उक्त विधेयक छिटो पारित गर्न गराउन आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने सहमति भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा दर्ता भएको निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० छिटो पारित गराउन समन्वयकारी भूमिका निर्वाह गर्ने सहमति पनि भएको छ ।

नवीकरण छुट भएका उद्योग नवीकरणको लागि आवश्यक व्यवस्था गर्ने सहमति भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।
सहमतिसँग क्रसर व्यवसायी महासंघले उद्योग नवीकरणको माग गरेर गर्दै आएको विरोध प्रदर्शन स्थगित गर्ने सहमति भएको छ ।

सहमति पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव डा.नारायणप्रसाद रेग्मी र महासंघको तर्फबाट अध्यक्ष न्यौपानेले हस्ताक्षर गरेका सहसचिव मीनबहादुर शाहीले बताएका छन् ।

Published : Thursday, 2024 July 4, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया