राष्ट्रिय सहमतिको सरकार बन्न लागेका बेला प्रचण्डलाई जथाभावी निर्णय नगर्न एमालेको चेतावनी

काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न ध्यानाकर्षण गराएको छ ।

बिहीबार एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री दाहाललाई अल्पमतमा परेको सरकारले विश्वासको मत पाउने अवस्था नरहेको बताए । उनले यस्तो अवस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न दाहाललाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनको लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न÷नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ ।’

‘राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ’, महासचिव पोखरेलले भनेका छन् ।

एमालेले भनेको छ, ‘संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिकोसरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ ।’

अल्पमतमा परेका प्रधानमन्त्री दाहालले धमाधम ठूला र दीर्घकालन असर पर्ने निर्णयहरू गर्न थालेपछि एमालेले सचेत गराएको छ ।

Published : Thursday, 2024 July 4, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया