क्रसर व्यवसायीलाई आन्दोलन फिर्ता लिन संघीय मन्त्रालयद्वारा आग्रह, मागप्रति सकारात्मक

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्दोलनरत नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरेर मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी अश्विनकुमार पोखरेलले भने, ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई संसदबाट छिटो पारित गराउन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

सहायक प्रवक्ता पोखरेलले भने, ‘हालको विरोध प्रदर्शन फिर्ता लिइ थप छलफल र सम्वादका लागि नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

मन्त्रालयले भनेको छ, ‘नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरूले क्रसर तथा खानी उद्योगको नवीकरण सम्बन्धी विभिन्न माग राखी असार १ गतेदेखि गरेको प्रदर्शनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’

‘यस सम्बन्धमा मनत्रलयको समन्वयमा व्यवसायी, गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि समेतको उपस्थितिमा उद्योगको नवीकरणका विषयमा छलफल भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी नै छ’, मन्त्रालयले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान बमोजिम प्राकृतिक स्रोतको बाँडफाँट र उपयोगका साथै निर्माणजन्य सामग्रीको उपयोग र व्यवस्थापनमा देखिएका समस्या सम्बोधन गर्ने प्रयोजनार्थ निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संसदमा दर्ता भइसकेको छ ।’

‘विधेयक हालसम्म नवकीरण हुन कसकेका क्रसर उद्योगको नवीकरण सम्बन्धी व्यवस्थापन गर्नुका साथै निर्माणजन्य सामग्रीको उत्खनन्, व्यवस्थापन र नियमनका लागि कानूनी व्यवस्था समेत गरिएको हुँदा उक्त विधेयक संसदबाट पारित भए पश्चात हाल विद्यमान सबै समस्या सम्बोधन हुने मन्त्रालयको विश्वास छ’, सहप्रवक्ता पोखरेलले भनेका छन् ।

मन्त्रालयले आफूहरूको मागका विषयमा चासो र चिन्ता जनाउँदै आन्दोलन फिर्ता लिन गरेको आग्रहलाई क्रसर व्यवसायी महासंघले सकारात्मक रुपमा लिएको अध्यक्ष सीताराम न्यौपानेले बताएका छन् ।

महासंघका सह–सचिव मीनबहादुर शाहीले मन्त्रालयका प्रतिनिधि र आन्दोलनरत व्यवसायीहरूबीच मागका विषयमा बिहीबार २ बजे संघीय मामिला मन्त्रालयमा वार्ता हुन लागेको बताएका छन् ।

Published : Thursday, 2024 July 4, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया