ओलीको नेतृत्वमा धारा ७६(२) बमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउने, प्रचण्डलाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई स्वागत गरेको छ ।

बुधबार बुढानिलकण्ठमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेस र एमालेबीच भएको राष्ट्रिय सहमतिको सरकार गठनलाई स्वागत गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष माननीय केपी ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ ।’

‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ’, कांग्रेसले भनेको छ ।

Published : Wednesday, 2024 July 3, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया