सीआइबीद्वारा कांग्रेस नेतृ डा.राणासँग जाडिएका समाचारहरूको खण्डन, सत्यकुराहरू बुझेर लेख्न आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले केही अनलाइन मिडिया तथा पत्रपत्रिकाहरूमा आधारहीन तवरबाट समाजमा भ्रम तथा अफवाह फैलाउने हेतुले समाचार सम्प्रेषण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार व्यूरोका प्रवक्ता समेत रहेका एसपी होबिन्द्र बोगटीले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘उकेरा डटकम लगायतका केही अनलाइन मिडिया तथा पत्रपत्रिकाहरूमा आधारहीन तवरबाट समाजमा भ्रम तथा अफवाह फैलाउने हेतुले बिगत केही दिनदेखि प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो लाजिम्पाटबाट विभिन्न व्यक्तिहरूको नाम समेत तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनि असत्य र भ्रामक विषयवस्तु राखी व्यूरो प्रमुख तथा व्यूरोका सूचना अधिकारीसँग समेत प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफूखुशी आम जनमानसमा भ्रम सृजना गरी, अराजकता फैलाउने उदेश्यले कपोकल्पित समाचार बनाई अतिरञ्जित तवरबाट प्रकाशन तथा प्रशारण गरेको पाइएको हुँदा त्यस्ता आधारहीन र अपुष्ट समाचारहरूप्रति यस व्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘त्यस्ता भ्रामक, कपोकल्पित रसत्यता परीक्षण नगरी प्रकाशन तथा प्रशारण गरिएका असत्य समाचारहरूको यस व्यूरोले खण्डन गर्दछ’, प्रवक्ता बोगटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘अपराध अनुसनधान सम्बन्धमा भएका गरेका प्रगति विवरण तथा व्यक्ति पक्राउ सम्बन्धमा भए गरेका सूचनाहरू यस व्यूरोले नेपाल प्रहरीले अबलम्बन गरेको मिडिया नीतिको अधिनमा रही सूचना अधिकारी मार्फत सूचना प्रेषित हुँदै आइरहेको छ’, व्यूरोले भनेको छ ।

‘कुनै अनुसन्धान तथा प्रहरी कारबाही सम्बन्धमा सत्यता परीक्षण नगरी भ्रामक, कपोकल्पित र आधारहीन समाचार प्रशारण तथा प्रकाशन नगरिदिनु हुन व्यूरो सम्पूर्ण सञ्चारकर्मीहरूमा अनुरोध गर्दछ’, प्रवक्ता बोगटीले भनेका छन् ।

केही अनलाइन मिडिया, युट्यूब, पत्रपत्रिका लगायतले नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाको व्यक्तिगत चरित्र हत्या हुने गरेर विभिन्न लाञ्छना लगाइ समाचार प्रकाशन गर्ने, तस्बिर जोडेर अपराधी सहर बनाउने जस्ता कार्यहरू भइरहेका बेला सीआइबीले ती समाचारमा सत्यता नरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

Published : Wednesday, 2024 July 3, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया