कांग्रेसद्वारा एमालेसँगको सहमति अनुमोदन, प्रचण्डलाई सहयाेग गर्न आग्रह, अन्यथा सरकार ढल्ने

काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्तावलाई अनुमोदन गरेको छ ।

बुधबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमो राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

कांग्रेस र एमालेबीच आधा आधार कार्यकाल लिने सहमति बनेको छ । पहिलो चरणमा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् ।

डा.महतले भने, ‘सरकार सुरूमा ओलीजीको नेतृत्वमा बन्छ । दोस्रो कार्यकालमा हाम्रो पार्टी सभापति बन्नुहुन्छ । समझदारीको मूल विषय यही हो ।’

प्रवक्ता डा.महतले सुशासन, स्थायित्व र आर्थिक समृद्धि दिनको लागि एमालेसँग सहकार्य गरेको बताए ।

प्रवक्ता डा.महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय सहमतिको सरकार बनाउन मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

कांग्रेसले २ ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न दाहालसँग आग्रह गरेको प्रवक्ता डा.महतले बताएका छन् ।

उनले भने, ‘सबैभन्दा ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्री मार्ग प्रशस्त गर्नुपर्छ ।’

‘उहाँले अब मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । अरू दलको पनि समर्थन घोषणा भइरहेको छ’, प्रवक्ता डा.महतले भने, ‘त्यसैले हामीले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छौँ ।’

महामन्त्री विश्वप्रकाश शर्मा पनि एमालेले सरकारलाई दिएको समर्थन आज बुधबार फिर्ता लिने सम्भावना रहेको बताएका छन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता रमेश लेखकले भने, ‘पहिला हेरौँ न । प्रतिपक्ष रहन्छ की रहँदैन । कहिले काहिँ लोकतन्त्रमा पनि संसदीय पद्धतिमा पनि मुलुकका केही महत्वपूर्ण विषयलाई सम्बोधन गर्नका लागि राष्ट्रिय सहमतिमा पनि सरकार बन्छ ।’

‘सबै दल मिलेर पनि सरकार बन्छ । यो प्रयोग पहिला हामीले गरिसकेका छौँ । संविधान बनाउने बेलामा पनि प्रयोग गरेका छौँ’, लेखकले भने, ‘त्यसले सार्थक परिणाम पनि दिएको छ । त्यस कारण राष्ट्रिय सहमतिको सरकार बन्नु हुँदैन भन्ने होइन ।’

‘कहिले काहिँ मुलुकमा विशिष्ट परिस्थितिमा विशेष एजेण्डाहरूलाई सम्बोधन गर्न मुलुक, राष्ट्रको जनताको हितमा काम गर्न राष्ट्रिय सहमतिमा सरकार बन्छन्’, उनले भने, ‘यसलाई लोकतन्त्र विरोधी कुरा हो भन्न मिल्दैन ।’

Published : Wednesday, 2024 July 3, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया