च्यासलेको निर्णयले बालुवाटारमा प्रचण्डलाई बज्रपात

काठमाडौं । नेपाली कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागेको एमालेले नयाँ सरकार निर्माणका लागि बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ ।

मंगलबार पार्टी कार्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले एमाले–कांग्रेसको सहमति अनुरूप एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।

एमालेको सचिवालय बैठकपछि सचिव योगेश भट्टराईले भनेका छन्, ‘एमाले र नेपाली कांग्रेसको सहमति अनुरुप एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागि भई राजनीति स्थायीत्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरूलाई आव्हान गर्ने निर्णय भएको छ ।’

सचिव भट्टराईले भने, ‘नेकपा (एमाले) र नेपाली कांग्रेसका वीचमा भएको सहमति अनुरुप अब संबिधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आव्हान गर्ने निर्णय भएको छ ।’

एमालेको निर्णयले झण्डै दुई वर्षदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेका दाहाललाई ठूलो झट्का लागेको छ । दाहालले तत्काल राजीनामा दिने पक्षमा छैनन् । दाहालले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर १ महिना सरकारमा रहने र संसदमा अविश्वासको मत सामना गर्ने योजना बनाएका छन् ।

प्रधानमन्त्री पदबाट दाहालले बुधबार राजीनामा दिएनन् भने एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ । एमालेले आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता बोलाउनेछ ।

Published : Tuesday, 2024 July 2, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया