गृहसचिव अर्याल र २ आइजीपीसहितको टोली अमेरिकाबाट स्वदेश फिर्ता

काठमाडौं । गृहसचिव एकनारायण अर्याल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कबाट स्वदेश फिर्ता भएको छ ।

असार १२ देखि १३ गतेसम्म संचालन भएको चौथो संयुक्त राष्ट्र प्रमुख प्रहरी शिखर सम्मेलनमा सहभागी भई मंगलबार स्वदेश फर्किएको विज्ञप्तिमा उल्लेख छ ।

गृहसचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल र प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की समेत त्यसतर्फ प्रस्थान गरेका थिए ।

गृहसचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

विमानस्थलमा कुराकानी गर्दै गृहसचिव अर्यालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले शान्ति स्थापनामा पुर्‍याएको योगदानको उच्च प्रशंसा भएको बताए ।

उनले भ्रमणमा नेपाली सुरक्षाकर्मीहरूको संख्या, सुविधा, तालिम र शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीहरूले भोग्नुपरेको समस्याको बारेमा छलफल भएको बताए ।

आइजीपी कुँवरले संयुक्त राष्ट्रसंघमा नेपाली सुरक्षाकर्मीहरूको संख्या घटिरहेको सन्दर्भमा महिला, सम्बन्धित विषयका विशेषज्ञ र महत्वपूर्ण पदमा नेपालीहरूलाई सहभागी गराउने विषयमा छलफल भएको बताए ।

समिटमा शान्ति अपरेशनहरू र द्वन्द्वको सम्भावित डोमेनहरू, द्वन्द्व र हिंसा रोक्न र शान्ति दिगो बनाउन, शान्ति अपरेशनहरू र शान्ति कार्यान्वयनलाई सुदृढ पार्ने उपन्यास दृष्टिकोणहरू लगायतका एजेण्डामा छलफल भएको थियो ।

गृहसचिव अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल समेत गरेका छन् ।

गृहसचिव अर्याल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल उक्त समिटमा सहभागी हुन असार १० गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

Published : Tuesday, 2024 July 2, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया