कांग्रेसद्वारा निर्देशक समितिसहित भ्रातृ संस्थाहरूको म्याद थप

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ ।

कांग्रेसले सोमबार राति विज्ञप्ति जारी गरेर निर्देशक समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने/गराउने छन् भनेको छ ।

‘विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन्’, कांग्रेसले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रुपमा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यादेश दिनुभएको छभने सो अवधिसम्मका लागि संघका तदर्थ कार्यसमितिहरूको समयावधि थप गरिएको छ ।’

‘पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठकमा अनुमोदनका लागि पेश गर्ने गरी यो निर्णय नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारु संघको हकमा लागू हुने निर्देशानुसार जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Tuesday, 2024 July 2, 3:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया