कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति, ओली प्रधानमन्त्री, गृहसहितका मन्त्रालय कांग्रेसले लिने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने सहमति बनेको छ ।

सोमबार राति भएको सहमतिअनुसार पहिलो चरणमा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् । ओलीले गृह मन्त्रालयसहित १० मन्त्रालय लिनेछन् ।

कांग्रेसलाई गृह मन्त्रालयसहितका ९ मन्त्रालय दिने सहमति बनेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सरकारको प्रधानमन्त्री बन्नेछन् । देउवा २ वर्षपछि प्रधानमन्त्री हुनेछन् ।

संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् । सोमबार राति नै उनीहरु राष्ट्रपति रामचन्द्र पाैडेल भेट्न शीतल निवास जाने बताइएको छ ।

साना केही दलहरूलाई पनि सरकारमा लगिने भएको छ । संविधान संशोधन गर्ने सहमति पनि कांग्रेस र एमालेबीच भएको छ ।

संविधान संशोधन गर्दा दुईतिहाईको बहुमत आवश्यक पर्नेछ । त्यसका लागि साना दललाई लैजान लागिएको छ ।

संविधान संशोधनको प्रस्ताव बनाउन पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा कार्यदल बन्नेछ । प्रतिनिधि सभालाई प्रत्यक्ष बनाउने र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक र समावेशी बनाइनेछ ।

प्रदेशसभाहरूलाई प्रत्यक्ष निर्वाचित मात्रै बनाउने तयारी छ । प्रदेशबाट समानुपातिक व्यवस्था हटाउने तयारी छ । संविधान संशोधनका क्रममा पालिकाहरूको संख्या घटाएर वडाहरूको संख्या बढाउने तयारी छ ।

लुम्बिनी, कर्णाली र कोशी प्रदेशमा एमालेले सरकार बनाउनेछ । कांग्रेसले लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिममा सरकार बनाउने सहमति बनेको छ । मधेश प्रदेशमा भने मधेश केन्द्रित दललाई नै दिने सहमति बनेको स्रोतले जनाएको छ ।

ललितपुरस्थित एमालेका महासचिव शंकर पोखरेलको निवासमा पोखरेल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमतिको प्रस्ताव तयार गरेका छन् । त्यसपछि महाराजगञ्जमा एकजनाको निवासमा कांग्रेस र एमालेका शीर्ष नेताहरूले सहमति कायम गरेर राष्ट्रपति कार्यालयतिर जाने तयारी गरेको बुझिएको छ ।

Published : Tuesday, 2024 July 2, 2:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया