मन्त्रिपरिषद बैठकमा सरकार परिवर्तनको चर्चामा प्रचण्डद्वारा मन्त्रीहरूलाई बिफ्रिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तनको हल्लाका विषयमा उठेका प्रश्न र जिज्ञासाहरूका विषयमा मन्त्रीहरूलाई जानकारी गराएका छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री दाहालले सरकार परिवर्तनका विषयमा भइरहेका चर्चा, परिचर्चामा ब्रिफिङ गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘सरकार परिवर्तनको छलफल केही पनि भएन । प्रधानमन्त्रीज्यूले केही ब्रिफ गर्नुभयो हामीलाई । जुन बाहिर मिडियामा आएका कुरा र यथार्थ कुरा के हो ? भन्ने विषयमा उहाँले ब्रिफ गर्नुभयो ।’

‘बिहान पनि खास गरेर नेकपा (एमाले)का अध्यक्ष र सम्माननीय प्रधानमन्त्रीज्यूको हिजो पनि आज पनि बैठक भएको कुरा आएको तपाईहरूले थाहा पाउनु भएकै छ’, मन्त्री शर्माले भनिन् ।

‘जति पनि बाहिर एउटा असमझदारी भएका छन् । असमझदारी बढे भन्ने कुरा छन् । जुन खालका चर्चा परिचर्चा ह्युमर्स भए । यी कुराहरू असन्तय हुन् । त्यस्तो छैन’, शर्माले भनिन् ।

‘हाम्रो छलफल सकारात्मक ढंगले अगाडि बढिरहेको छ । यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर प्रधानमन्त्रीले ब्रिफ गर्नुभएको छ । हामीलाई त्यस्तो खालको फिल अथवा के होला ? सरकार के होला ? भन्ने खालको जसरी मिडियामा बाहिर आएको छ त्यो खालको स्थिति होइन’, उनले भनिन् ।

‘यो गठबन्धनकै विषयमा जसरी सरकार अगाडि बढिरहेको छ यो सरकार यसरी नजाओस् भन्ने कसै कसैको सोँचाइ पनि हुने कुरा भयो । त्यसो भएको हुनाले यसलाई मिडिया ट्रायल, के भनौं ? गलत न्यूजहरू बाहिर आइरहेका छन्’, मन्त्री शर्माले भनिन् ।

‘भरखर तपाईले अहिले हेर्नु भयो भने केपी ओलीले सबै आफ्ना मन्त्रीहरूलाई ६ बजे बोलाएको भन्ने, पदाधिकारी बैठक बोलाएको भन्नेछ तर, त्यो केही पनि छैन । मन्त्रीहरूलाई थाहा छैन त्यो विषयलाई । मन्त्रीज्यूहरू क्याबिनेटमा हुनुहुन्छ । उहाँ (केपी ओली) कार्यकर्ता भेटघाट गरिरहनुभएको छ । तर, बाहिर मिडियामा यसरी न्यूज आइरहेको छ । आएका सबै न्यूजहरू सत्य हुँदा रहेन छन्’, उनले भनिन् ।

‘राष्ट्रिय सहमतिको कुराहरू पनि छैन । योभन्दा पहिले जुन बेला पहिलो कोसिन भत्किएर दोस्रो कोलिसन बनेको बेलाको कुरा हो । अहिले राष्ट्रिय सहमतिको कुरा छैन । काम गर्दा राष्ट्रिय सहमति चाहिन्छ भन्ने कुरा भएको छ । टीआरसी विधेयक पास गर्नलाई राष्ट्रिय सहमति जुटाउनुपर्छ भन्ने कुरालाई । राष्ट्रिय सहमति भनेको कुरा राष्ट्रिय सरकारलाई होइन । त्यो फरक कुरा हो’, उनले भनिन् ।

‘हामी अलग अलग सत्तापक्ष, प्रतिपक्षमा हुँदाहुँदै पनि राष्ट्रिय सहमति जुटाउनु पर्ने विषयहरू हुन्छन् । त्यो विषयमा मेहनत र प्रयत्न भइरहेका छन्’, प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री शर्माले भनेकी छिन् ।

Published : Monday, 2024 July 1, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया