टरिगाउँ विमानस्थल र चारलेन सडकबारे नाटकीय कुरा नगर्न प्रधानमन्त्री र अर्थमन्त्रीलाई गिरीकाे चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल र चारलेनको सडकमा निर्माणमा भइरहेको सरकारी उपेक्षाप्रति आक्रोश पोखेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले लामो इतिहाँस बोकेको टरिगाउँ विमानस्थल बनाउन पटक पटक आवाज उठाउँदा पनि सरोकारवाला निकायले लापरबाही गरेर ध्यान नदिएको बताए । उनले चारलेन सडकलाई कामचलाउ रुपमा टालटुल गरेर सञ्चालनमा ल्याएको भन्दै जेठ महिनामा टेण्डर हुन्छ भनेको कुरा अहिले एक्जिम बैंकको पत्र आएन भनेर रोकिएको बताए ।

उनले भने, ‘टरिगाउँ विमानस्थल नेपालकै एउटा पुरानो विमानस्थल हो । हामी नै बालक थियौँ । काठमाडौं पढ्ने बेला दाङमा ५ वटा डेखुटाहरू उड्थ्यो । नेपाली वायुसेवाको जहाज उड्ने बेला डेखुटा उड्थ्यो ।’

‘दाङको टरिगाउँको एयरपोर्टको बारेमा धेरै कुराहरू गरिरहेको छु । हामी सिरियस र गम्भीर किन छैनौँ ? मैले एयरपोर्टको बारेमा प्रश्न गरेँ । प्रधानमन्त्रीले जवाफ दिनुभयो । जवाफ नाटकीय भयो । हाम्रो टरिगाउँ एयरपोर्टको बारेमा उल्लेख गर्नुभयो वर्षमान पुनजीले । मैले पटक पटक भेट गरेको देख्नु हुन्छ । उहाँले भन्नुभयो । मैले व्यवस्थित रुपमा व्यवस्था गरेको छु भन्ने कुरा पनि गर्नुभयो’, सांसद गिरीले भने ।

उनले भने, ‘मैले सांसदको हैसीयतले । जनप्रतिनिधिको हैसियतले यो सरकारले प्रश्न गर्छु । यो नाटक किन भइरहेको छ । गर्न सकिँदैन भन्न सक्नु प¥यो । हामी गर्दैनौँ ।’

‘दाङको चारलेनको बाटो मेरुदण्ड हो । तुलसीपुर–घोराही–लमही त्यो चारलेन सडकको बाटोको बारेमा तत्कालीन भौतिकपूर्वाधार मन्त्री प्रकाश ज्वालाले जेठको महिनामा टेण्डर हुन्छ भन्ने जवाफ दिनुभयो । यो बजेटमा पनि केही उल्लेख भएन । अहिले एक्जिट बैंकको पत्र आएको छैन भनिएको छ’, सांसद गिरीले भने ।

‘अहिले हामीले टालटुलको अवस्थामा तुलसीपुर–घोराही–लमही सडक चार लाइन बाटो बनाएको अवस्था हो’, उनले भने ।

‘यसरी जनप्रतिनिधिलाई छल्ने । ठग्ने । यहाँ त केही हुन पाउँदैन । अर्थमन्त्रीलाई मैले सोधे, बजेट कति दिनुभएको छ भनेको म बुझेर भन्छु भन्नुभयो । उहाँ छापामा आउँछ दाङमा प्रचण्डजीको फोटोसहित अर्को फोटोसहित मैले गरेर मेरो प्रभावमा यति करोड आइसक्यो भन्ने चर्चा परिचर्चा गरिन्छ । यस्ता कुरामा सरकार गम्भीर होस्’, सांसद गिरीले भने ।

बिचौलियाहरूले बजेट ल्याएको छु भनेर दाङमा प्रचार प्रसा गरेकोमा सांसद गिरीले आपत्ति जनाएका छन् ।

Published : Monday, 2024 July 1, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया