सांसद थापाद्वारा भक्तपुर जोड्ने कोटेश्वरको जाम हटाउन फ्लाइ ओभर र अण्डरपासको योजनाबारे जानकारी माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले कोटेश्वरमा फ्लाइ ओभर र अण्डरपास बनाउने योजना कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले कोटेश्वरमा जाम हुने स्थानमा जापन सरकारको सहयोगमा फ्लाइ ओभर र अण्डरपास बनाउने योजनाका बारेमा जानकारी माग गरेका हुन् ।

सांसद थापाले भने, ‘भक्तपुरका मेरुदण्डको रुपमा रहेको अरनिको राजमार्ग पर्छ । त्यस सडकखण्डअन्तर्गत तीनकुने, कोटेश्वर, जडीबुटी अत्यन्तै जाम हुने ठाउँ छ ।’

‘गत वर्ष नै जाइकाको आर्थिक सहयोगमा फ्लाइ ओभर, अण्डर पास बन्ने कुरा अगाडि बढेको थियो’, थापाले भने, ‘अहिलेसम्म त्यसको प्रगति कहाँ पुगेको छ ? सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद थापाले भने, ‘त्यस सडकखण्डअन्तर्गत सडक बत्ती छ । सडक बत्ती नबलेको कारणले रातिकालीन दुर्घटना अत्याधिक बढेको छ । सडक बत्ती अबिलम्ब बाल्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Published : Monday, 2024 July 1, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया