दुइटा विज्ञप्ति जारी गरेर राप्रपामा कीर्तिमान कायम, दुई पूर्वअध्यक्षको फोटो गायब

काठमाडौं । एउटै बैठकको एकै दिनमा दुईवटा छुट्टाछुट्टै विज्ञप्ति संप्रेषण गरेर राप्रपाले नयाँ कीर्तिमान कायम गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार सम्पन्न भएलगतै प्रवक्ता मोहन श्रेष्ठले पहिलो पटक तीन बुँदे विज्ञप्ति जारी गरे भने दोस्रो पटक चार बुँदे । पहिलो सूचनामा छुटाइएको आन्दोलनका कार्यक्रम जारी रहेको जानकारी दोस्रोमा समावेश थियो ।

‘जग हसाउने यस्तो गम्भीर विषयलाई सामान्य रुपमा कसरी लिने ? बैठकको निर्णय लुकाउने काममा षड्यन्त्र लुकेको हुनसक्छ, यसमा पार्टीले छानविन र स्पष्टीकरण सोध्नुपर्छ । पार्टीमा एकथरीले आन्दोलन चाहेका छैनन्, कुर्सीमोहमा तल्लीन छन् । सरकारमा गए अध्यक्ष बलियो हुन्छन् भनेर भ्रम फैलाउँछन्’, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यले बताए ।

बैठकको सूचना संप्रेषणसँगै राप्रपामा अर्को विवाद उठेको छ । पार्टीबाट प्रेसलाई उपलब्ध बैठकको फोटोहरूमा दुई पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीको तस्वीर काटिएको छ । सूत्रका अनुसार, दुवै नेताहरूले एक्लै नहिँड्न, विधि र विधानको सम्मान गर्न अध्यक्षलाई सुझाएका थिए, आलोचनात्मक रुपमा खरो प्रस्तुत भएका थिए ।

राप्रपा प्रजातान्त्रिक पार्टी हो र यसैअनुसार ठूलो छाति लिएर सबैलाई समेटेर अघि बढ्नुपर्छ भनेर राणाले धारणा राखे । डा.लोहनीले विधानको पालना गरे पार्टी बलियो हुने, सबै बलियो हुने बताए । दुवै पूर्वअध्यक्षलगायत कार्यसम्पादनको ८० प्रतिशत बहुमतले महिला अध्यक्ष अञ्जना शाह रावललाई पार्टीमा काम गर्ने वातावरणसहित फिर्ता बोलाउनुपर्ने बताए ।

अध्यक्ष राजेन्द्र लिङ्देन अलिक तनाव र द्विविधामा देखिए । समापन मन्तव्यमा आफू महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएको कुरा २० मिनेटमा १७ पटक उठाए । कहिले महाधिवेशन लड्ने त, कहिले नलड्ने जस्ता अन्तरविरोधी कुरा गरे । डा.लोहनी र डा.धवलशम्शेर राणाकै कारण आफू पार्टी अध्यक्ष निर्वाचित भएको भनेर दुवै नेतालाई फकाउन खोजे ।

बैठकमा अध्यक्षको काम, कर्तव्य र अधिकारबारे छलफल भयो । पुरानो राप्रपा जस्तो नयाँ राप्रपा अध्यक्षतात्मक प्रणालीमा अभ्यस्त नभएको, विधानको स्पीरिटले समितिको बहुमतबाट पार्टी संचालन हुने स्पष्ट निर्दिष्ट गरेको बहुमत सदस्यले बोल्ने क्रममा बताए । विधानको कुन व्यवस्था र दफामा अध्यक्षतात्मक प्रणाली भन्ने व्याकांश र व्यवस्था छ, देखाइदिन चुनौति समेत दिए ।

Published : Monday, 2024 July 1, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया