बयान लिएर छाडेपछि एआइजी ज्ञवालीबारे गृहमन्त्री लामिछानेसँग सभापति खतिवडाद्वारा जवाफ माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)का प्रमुख (एआइजी) श्यामलाल ज्ञवालीले ‘द डार्क फाइल’ नामक प्रकरणका दोषीहरूको बयान लिएर फरार सूचीमा राखेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको भन्दै गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक रुपमा विशेष समय लिएर बोल्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका सांसद खतिवडाले अभियुक्त ३ जनामध्ये नवीन ढुङ्गानाको बयान लिएर छाडेको भन्दै आपत्ति जनाए । सीआइबीका प्रमुख ज्ञवालीले बयान लिएको व्यक्तिलाई छाडेर अदालतमा मुद्दा दर्ता गर्दा फरार सूचीमा राखेको भन्दै खतिवडाले विरोध जनाए ।

उनले भने, ‘भरखरै १४ गतेका दिन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा एउटा चर्चित ‘द डार्क फाइल’ भनने मुद्दा प्रस्तुत भएको छ ।’

‘यो मुद्दामा तीन जना अभियुक्त बनाइएको छ, राजकुमार तिमिल्सिना, युवराज कँडेल र नवीन ढुङ्गाना । यीमध्ये दुई जना मान्छे सीआइबीमा सम्पर्कमा भएनन् । तर, राजकुमार तिमिल्सिनालाई दुइचोटी बयान लिइएर नेपाल प्रहरीको सीआइबीले फरार अभियुक्तको रुपमा अदालतमा पेश गरिएको छ’, सभापति खतिवडाले भने ।

उनले भने, ‘कुनै बेला ६० केजी सुन प्रकरणमा फरार अभियुक्त भनेर बयान लिइएका चलाउने की चिलाउने भन्ने मान्छेका नाउमा मुद्दा चलाउँदाखेरी तत्कालीन एआइजीलाई निलम्बनको प्रस्तावसम्म कारबाहीको प्रस्तावसम्म गरियो भने अहिले यो ‘द डार्क फाइल’ जसको सर्वोच्चको संवैधानिक इजलासले समेत यसको अनुसन्धान गर्नु भनेर अनुमति दिएको थियो । सीआइबीले त्यसलाई छानविन पनि गरेको थियो ।’

‘तर, त्यहाँ बयान लिएको अभियुक्तलाई कसको निर्देशनमा ? किन बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेश गरियो ? यो आपत्तिजनक छ । कसको निर्देशनमा भयो ? यसको जवाफ गृहमन्त्रीले सदनमा दिनुपर्छ’, खतिवडाले भने ।

‘दुई पटक सीआइबीमा बयान लिएको मान्छेलाई के आधारमा फरार अभियुक्त भनेर मुद्दा पेश गरियो त्यसको जवाफ छिटोभन्दा छिटो सदनलाई जानकारी गराइयोस् भनेर माग गर्दछु’, सभापति खतिवडाले भने ।

सीआइबीका प्रमुख (एआइजी) ज्ञवालीले गृहमन्त्री रवि लामिछानेको आदेशमा ‘द डार्क फाइन’ नामक प्रकरणका दोषीहरूलाई बयान लिएर छोड्न आदेश दिएको चर्चा भइरहेका बेला कांग्रेसले विरोध जनाएको छ ।

Published : Sunday, 2024 June 30, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया