फ्युल सेन्टर नहुँदै नलिन्चोक हेलिप्याड सञ्चालन, महानिर्देशकको ठूलो लापरबाही

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको भक्तपुरको नलिन्चोक हेलिप्याडमा नेपाल आयल निगमले फ्यूल सेन्टर स्थापना गर्न सुरक्षाका कारण आनाकानी गरेको छ ।

निगम उच्च स्रोतले नलिन्चोक हेलिप्याडमा सुरक्षाका कारण फ्युलको डिपो राख्न नसकिने जनाएको हो । निगमले फ्युल सेन्टर स्थापना गरेन भने ग्यालनबाट फ्लुल लगेर हेलिकप्टरमा भर्नुपर्ने हुन्छ वा १ लाख ३३ हजार खर्च गरेर हेलिकप्टर कम्पनीहरूलाई आर्थिक भार पर्ने गरी फ्युल भर्न आउनुपर्ने हुन्छ ।

डिपो राख्न प्राधिकरणले हेलिप्याड उद्घाटन हुनुभन्दा केही घण्टा अगाडि मात्रै पत्र पठाएको थियो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निगमलाई फ्युलका लागि डिपो राख्ने विषयमा गम्भीर भएर ध्यान नदिएको आरोप लागेको छ ।

निगमले डिपो राखिदिएन भने हेलिकप्टर कम्पनीहरूलाई फ्युल भर्नका लागि न्यूनत पनि १ लाख ३३ हजार लाग्नेछ । अमेरिकन डलरको भाउमा हुने उतारचढाबका आधारमा यो नोक्सानी हुनेछ ।

नलिन्चोक हेलिप्याडबाट फ्युल भर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुपर्दा १० मिनट लाग्छ । हेलिकप्टरलाई आउजाउ गर्दा २० मिनट लाग्ने भयो । फ्युल भर्न अर्थात एयर टाइम सबै गर्दा करीव ३० मिनट लाग्नेछ ।

महानिर्देशक अधिकारीले हेलिप्याड बनाउँदा र उद्घाटन गर्नु अगाडि कम्तीमा पनि फ्युल सेन्टरको व्यवस्थापन गर्नुपर्ने थियो । हेलिकप्टरको सेवा भनेको इमर्जेन्सीमा प्रयोग हुन्छ । त्यसका लागि जतिबेला पनि फ्युलको आवस्यक्ता पर्छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीले आयल निगमलाई पर्याप्त समय दिएर कुनै जानकारी नदिने र कुनै पनि एरिया उपलब्ध नगराउने कार्य भएपछि फ्युलको समस्या हुने देखिएको प्राधिकरणकै एक उच्च कर्मचारीले बताएका छन् ।

हेलिप्याड उद्घाटन हुनुभन्दा एकदिन पहिला निगमलाई प्राधिकरणले फ्युल उपलब्ध गराउने भनेर पत्र पठाएको बुझिएको छ ।

निगमले के कसरी फ्युल उपलब्ध गराउने ? फ्युल सेन्टर राख्न प्राविधिक योजना लगायतका विभिन्न सुरक्षाका कुरामा ध्यान दिएको छ । महानिर्देशक अधिकारीले भन्दा पनि सुरक्षा सेफ्टीलाई निगमले ध्यान दिएको छ ।

ई.विनायक भट्टराई र क्याप्टन शैलेन्द्र बस्नेत (माउन्टेन एयर)को प्रतिवेदनलाई आधार बनाउँदै महानिर्देशक अधिकारीले हेलिप्याड सञ्चालनमा ल्याएका छन् ।

हेलिप्याडको सुरक्षालाई लिएर अधिकांश पाइलटहरूले गुनासाहरू गरिरहेका छन् । अधिकांश पाइलटहरूले नलिन्चोक हेलिप्याडको सुरक्षालाई लिएर विभिन्न निकायमा निवेदन दिने तयारी गरेका छन् ।

विभिन्न एयरलाईन्सका झण्डै ५० जना पाइलटहरूले नलिन्चोक हेलिप्याड कुनै पनि हिसाबले हेलिकप्टर उडान र अवतरण गर्न सुरक्षित हुन्छ भन्ने ठानेका छैनन् ।

नलिन्चोकका स्थानीय व्यक्तिहरूको विरोधका बाबजुद महानिर्देशक अधिकारीले हेलिप्याड सञ्चालनमा ल्याएको आरोप छ ।

नलिन्चोक हेलिप्याडको हालत बाटोमा पार्किङ गरेका गाडीहरूको जस्तो अवस्था भयो भनेर पाइलटहरूले गुनासो गर्न थालेका छन् ।

नलिन्चोक हेलिप्याडमा टर्मिनल भवन छैन । यात्रुहरू मैदानमा टुक्रुक्क बस्नु पर्ने अवस्था छ । रिफ्युलिङ्गको लागि ईन्धन भण्डार छैन । ग्यालनमा ल्याएर ईन्धन भर्न पर्छ । सुरक्षाकर्मीको स्टेसन छैन । वरिपरी घरहरू, टेलिफोन टावर र हाईटेन्सनका लाईनहरू छन् ।

नलिन्चोक हेलिप्याडको पूर्वतर्फ ट्रान्समिशन लाईन छ, पूर्वतर्फ नै रुख छन् । रुखलाई काट्न सकिएको छैन । नजिकै ३ वटा अग्ला बिल्डिङ छन् । टेलिफोन टावर पनि छ । पश्चिमतिर पनि घर र टेलिफोन टावर छन् । उडान र अवतरण गर्दा ईमर्जेन्सी भएमा खुला ठाउँमा अवतरण पर्छ भनिएको छ । उडान गर्ने बेला ५ मिटरभन्दा तल रहेको हेलिकप्टरमा समस्या आउँदा, ईन्जिन बिग्रियो भने खाली ठाउँमा राख्न भनिएको कुरा परिपत्रमा उल्लेख छ । नलिन्चोक हेलिप्याडमा प्राधिकरण आफैले यस्ता यस्ता कुरा र समस्या छन् भनेर पाइलटले नै सतर्कता अपनाउने भनेर लिखित रुपमा भनेको छ ।

अत्यावश्यक सेवा नहुँदै महानिर्देशक अधिकारीले आर्थिक वर्ष सकिनुअघि हतार–हतार गरेर नलिन्चोक हेलिप्याड उद्घाटन गराएका छन् । महानिर्देशक अधिकारीको डरले प्रतिक्रिया दिन कसैले पनि मानेका छैनन् । केही बोल्नेवित्तिकै महानिर्देशक अधिकारीले कारवाही गर्ने भएको हुँदा पाइलट र हेलिकप्टर कम्पनीहरू बोल्न सकेका छैनन् ।

Published : Saturday, 2024 June 29, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया