आलोचना भएपछि सहन नसकेर सभापति लामिछानेले महामन्त्री ढकालसँग स्पष्टीकरण सोध्न लगाए

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेका छन् ।

सभापति लामिछानेले अनुशासन आयोगमार्फत महामन्त्री ढकालसँग प्रतिवेदनलाई लिएर स्पष्टीकरण सोधेको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले पत्रकारहरूलाई बताएकी छिन् । आयोगले सभापति लामिछानेसँगको परामर्शमा ढकालसँग स्पष्टीकरण सोधेको छ ।

महामन्त्री ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार स्पष्टीकरण सोधिएको रास्वपाले जनाएको छ । महामन्त्री ढकालले पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको आरोप लागेको छ ।

३८ जिल्ला घुमेर ढकालले तयार पारेको ३२ पानाको प्रतिवेदनका कारण रास्वपाभित्र खैलाबैला उत्पन्न भएको छ ।

पार्टीको आन्तरिक कुरा मिडियामार्फत अनावश्यक प्रचारबाजी गरेको भन्दै सभापति लामिछानेले महामन्त्री ढकाललाई स्पष्टीकरण सोध्न आयोगलाई आदेश दिएका हुन् ।

रास्वपाले इलाम २ मा भएको गत वैशाख १० को उपनिर्वाचनमा भोगेको नमिठो हारपछि ढकालको नेतृत्वमा नेताहरूलाई देशव्यापी अभियानमा उतारेको थियो ।

आफ्नो नाडी छाम्ने गरी रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएकामध्ये मुख्य नेता थिए महामन्त्री ढकाल ।

देश दौडाहा सकेर आएपछि महामन्त्री ढकालले स्थापनाको छोटो समयमै संघीय संसदका २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन सभापति लामिछानेलाई दिएका थिए ।

जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका महामन्त्री ढकालले असार ६ गतेसम्म ३९ जिल्लाका नेता कार्यकर्तासँग संवाद गरेर तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति लामिछानेको लोकप्रियता खस्किँदै गएको विश्लेषण प्रतिवेदन बुझाएपछि पार्टीभित्रै ढकाललाई कारबाहीको कुरा उठेको थियो ।

सहकारीका साथै विभिन्न काण्डहरूमा सभापति लामिछानेको नाम मुछिएका छन् । महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेर सभापति लामिछानेले आफूलाई निरंकुशत सावित गर्न खोजेका छन् ।

Published : Friday, 2024 June 28, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया