ओसिनले चलाएको साम्राज्ञी-स्वस्तिमाकाे कार्यक्रममा विवाद, काउन्सिलले काट्यो २४ घण्टे पुर्जी

काठमाडौं । प्रेस काउन्सिल नेपालले विवादास्पद कार्यक्रम चलाएको, गोपनीयता हनन् हुने काम गरेको र अश्लीलता देखाएको भन्दै कान्तिपुर टिभीलाई २४ घण्टे पुर्जी काटेको छ ।

कान्तिपुर टिभीमा ओसिन सिटौलाले चलाएको स्वस्तिमा खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाहको सो विवादमा तानिएको छ ।

काउन्सिल स्वयंको प्रारम्भीक अनुगमनले समेत आपत्तिजनक देखाएपछि शुक्रबार कान्तिपुर टिभीलाई पुर्जी काटेको काउन्सिलका एक सदस्यले जानकारी दिएका छन् ।

यो पुर्जीपछि काउन्सिलले अब टिभीका पदाधिकारीलाई बयानका लागि बोलाउने, माफी मगाउन लगाउने, सम्पादन गर्न लगाउने र कालोसूचीमा राख्नेसम्मको कारवाही गर्न सक्छ ।

गत साता उक्त सोमा प्रस्तोताले सोधको प्रश्न र नायिकाले दिएका जवाफ कसैको वैयक्तितक जीवन एवं गोपनीयता प्रतिकुल हुने ढंगले प्रस्तुत गरेको काउन्सिलको निष्कर्ष छ ।

काउन्सिलको पत्रमा उक्त सोका प्रस्तुतकर्ता र अतिथिका समग्र प्रस्तुति, प्रयुक्त भाषा, लवज समेतमा प्रश्न उठाएको छ ।

पत्रमा कसैलाई अनुचित हानी पु¥याउने, अपहेलना, मानमर्दन हुने प्रकृतिको जवाफको अपेक्षा गर्दै कार्यक्रमको प्रारुप तयार गर्ने र त्यस उपर व्यक्त भएका जवाफ विना सम्पादन के कसरी सम्प्रेषण हुन गएको हो र यसले समाजमा कस्तो असर पर्छ भन्ने कुराको जिम्मेवारी सञ्चार माध्यमले लिनुपर्छ कि पर्दैन ? भन्दै २४ घण्टाभित्र जवाफ माग गरिएको छ ।

काउन्सिलले पछिल्लो समयमा युट्यव, अनलाइन र विभिन्न मिडियामा आचारसंहिता विपरित देखिने सामाग्रीलाई तत्काल हटाउने र अटेर गरे कालोसूची राख्ने कामलाई तिव्रता दिइरहेको छ ।

Published : Friday, 2024 June 28, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया