पत्रकार महासंघलाई विधि विपरीत सञ्चालन नगर्न युनियन अध्यक्ष लम्सालको चेतावनी

काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधानअनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासीनता देखाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शुक्रबार अध्यक्ष लम्सालले विज्ञप्ति जारी गरेर पत्रकार महासंघका शाखा र प्रदेश कार्यसमितिले सिफारिस गरेका सदस्यलाई हटाएर महासंघको कुनैपनि वैध संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति असहमति जनाइसकेको बताएका छन् ।

‘नेपाल प्रेस युनियनले असार ९ गते पत्रकार महासंघको सदस्यता विवाद लगायतका समस्या सम्बोधन गरेर निर्वाचनको वातावरण तयार गर्न आग्रह गर्दै ५ बुँदे मागसहित २४ घण्टे ध्यानाकर्षण गराएको स्मरण गराउन चाहान्छौं’, लम्सालले भने ।

‘लगत्तै महासंघका अध्यक्ष र महासचिवसँग भएको वार्तामा शाखा र प्रदेश समितिले सिफारिस गर्दासमेत नाम काटिएका तथा छुटेका वास्तविक पत्रकारलाई समेत समावेश गरी अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने सहमति भएको थियो’, उनले भने ।

‘महासंघको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने समय घर्किन लाग्दा पनि पत्रकार महासंघको नेतृत्वले युनियनसँग कुनै सम्वाद नगरी बेवास्ता गरेर एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेकोमा घोर आपत्ति जनाउँछौं’, अध्यक्ष लम्सालले भने ।

‘कुनै अमुक संगठनको स्वार्थ अनुरुप समस्या समाधान नगरी निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेमा त्यसको क्षति महासंघले व्यहोर्नुपर्नेछ’, उनले भने ।

‘महासंघकै शाखा तथा प्रदेश समितिको सिफारिस, पत्रकारले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिएको आवेदनको उजुरीलाई समेत बेवास्ता गर्ने, जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत निर्वाचन समिति गठन गर्न निर्देशन दिएर महासंघ जस्तो लोकतान्त्रिक संस्थाले अलोकतान्त्रिक चरित्र देखाएको युनियनको ठहर छ’, अध्यक्ष लम्सालले भने ।

‘पत्रकार महासंघको निर्वाचनप्रक्रियालाई सहजीकरण गर्न महाधिवेशनबाट पूर्व अध्यक्षहरू सम्मिलित निर्देशक समिति गठन भएको थियो’, उनले भने, ‘सो समितिका सदस्यहरू महासंघको पूर्व अध्यक्षको गरिमा ख्याल नगरी सत्ता समर्थित संगठनहरूको संयुक्त बैठकमा बस्ने र विधि विपरितका प्रतिवद्धता गरी महासंघलाई अन्योलमा पार्ने काम गरेकोप्रति पनि हाम्रो आपत्ति छ ।’

अध्यक्ष लम्सालले भने, ‘महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ र केन्द्रीय निर्वाचन समितिलाई युनियन आग्रह गर्दछ ।’

‘महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरी विधान अनुसार सदस्यता विवाद नटुंगाई एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा देशभरका पत्रकारहरू आन्दोलित हुने र त्यसको परिणाम महासंघलाई विधि विपरीत सञ्चालन गर्न चाहनेहरूले नै व्यहोर्नुपर्ने चेतावनी दिन चाहन्छौं’, उनले भने ।

Published : Friday, 2024 June 28, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया