एनसेलको २५ अर्ब राजस्व ठगी नियन्त्रण, कल बाइपास, भिओआइपी रोक्न टेरामक्स ल्याएको बस्नेतको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कल बाइपास, भिओआइपी र एनसेलको करीव २५ अर्बको राजस्व ठगी धन्दा नियन्त्रण गर्न टेरामक्स प्रविधि ल्याइएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा बोल्दै सांसद बस्नेतले भने, ‘मलाई पनि यो टेरामक्सको कुरालाई लिएर बेलाबेलामा… हुन त यसका बारेमा ३ जना सांसदहरूको नाउ मुछिएको छ ।’

उनले भने, ‘यसको बारेमा कुरा उठाउने गरेको छ बेलाबेलामा एकदम कलिला कलिला ओठ निचरे दुध आउन माननीयज्यू देखिन् दार्जी जुङ्गा फुलेका माननीयज्यू सबैले यो कुरा उठाउनु भएको छ ।’

‘उचित दिन आए छभने म यसको जवाफ दिनेछु । यती कुरा चाहिँ सम्मानित सदनमा राख्न चाहन्छु’, बस्नेतले भने ।

‘टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खानेधन्दा भिओआइपी प्रकरण अर्को भाषामा भन्दा त्यसलाई नियन्त्रण गर्छ’, बस्नेतले भने, ‘संसारभरि यहि विधिले नियन्त्रण गरेको छ । र, त्यहाँ यो ठगी गर्ने धन्दा भएको छैन ।’

उनले भने, ‘नेपालमा एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढि घोटाला राजस्व घोटाला नेपालमा भएको छ ।’

‘यदि यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने वा भिओआइपी प्रकरणलाई रोक्ने विधि होइन भने विधि के हो त ?’, प्रश्न गर्दै बस्नेतले भने ।

‘संसारभरि विधि हुने, यहाँ चाहिँ विधि नहुने के हो ? मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ । र, २५ अर्ब वार्षिक घोटाला गर्नेले कति ? अर्ब खर्च गरेर सम्बन्धित निकायहरूलाई ढाकछोप गर्ने, अथवा यथार्थ विषयालाई डाइभर्ट गर्न खोजेको भविष्यले बताउला’, बस्नेतले भने ।

‘यो टेरामक्स नेपालका लागि अर्बौ रकम राजस्व जोगाउने एउटा मन्त्र हो । फर्मुला हो’, उनले भने, ‘त्यो नभएसम्म कल बाइपास हुने काम भइरहन्छ ।’

उनले भने, ‘देशमा यस्ता लुटेराहरू अहिले एनसेल यसको सबैभन्दा ठूलो नाइके हो ।’

Published : Friday, 2024 June 28, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया