एनजीओ एनिमल नेपालविरुद्ध आफ्नै तत्कालीन कार्यकारी निर्देशकले दिए जोहरी र उजुरी

काठमाडौं । जनावरको अधिकारका लागि काम गर्दै आएको दाबी गर्ने एनजीओ ‘एनिमल नेपाल’विरुद्ध आफ्नै तत्कालीन कर्मचारी (कार्यकारी निर्देशक) हरिप्रसाद जोशीले श्रम अदालत काठमाडौंमा उजुरी दायर गरेका छन् ।

ललितपुरमा कार्यालय रहेको एनिमल नेपालविरुद्ध जोशीले आफूलाई अबैधानिक रुपमा कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै श्रम अदालतमा उजुरी दिएका हुन् ।

आफूलाई कार्यकारी निर्देशक पदबाट हटाउने एनिमल नेपालकी अध्यक्ष प्रमदा शाहको निर्णय अबैधानिक रहेको दाबी जोशीले गरेका छन् । एनिमल नेपाल संस्थाको विधानअनुसार कार्य समिति गठन भएको छैन भन्दै जोशीले उक्त कार्यसमितिको निर्णय भनि प्रेसित पत्र स्वयंमा अवैधानिक रहेको उजुरीमा उल्लेख गरेका छन् ।

‘कार्यकारी निर्देशक पदको आर्थिक व्यवस्थापन परियोजनाका दातृ निकायहरूले गर्दै आएको तथा एनिमल नेपालले कुनै पनि आर्थिक दायित्व कार्यकारी निर्देशक पदलाई बहन गर्नु नपरेको अवस्थामा खर्च कटौति गर्नुपरेको भन्ने शब्द आफैमा खण्डित हुन जान्छ’, जोशीले श्रम अदालतमा दिएको उजुरीमा उल्लेख छ ।

यसैबीच, जोशीले जिल्ला प्रशासन कार्यालय ललितपुरमा पनि एनिमल नेपाल नामक एनजीओवरुद्ध जाहेरी दिएका छन् । उनले एनिमल नेपालको अवैधानिक कार्यसमिति भङ्ग गरि आर्थिक अनुशासन कायम गराइदिने सम्बन्धमा भन्दै ०८१ जेठ ३१ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा जाहेरी दर्ता गराएका छन् ।

एनिमल नेपालका पछिल्ला गतिविधिहरू विवादमा पर्दै आइरहेका बेला आफ्नै तत्कालीन कर्मचारीले न्यायका लागि न्यायिक निकायमा जाहेरी र उजुरी दिएपछि एनजीओको हर्कत बाहिर आएको छ ।

जनावरको अधिकारका लागि भन्दै एनिमल नेपालले गरेका कार्यहरू विवादित भइरहेका छन् । उनीहरूका गतिविधिबाट प्रहरी र प्रशासन पनि दिक्क भइसकेको छ ।

Published : Thursday, 2024 June 27, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया