दैनिक उपभोग्य बस्तुको गुणस्तरसँग सम्झौता हुँदैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ ।

विभाग गठन भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपा ललितपुरमा मङ्गलवार अपराह्न भएको छलफलमा सहभागी उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूसँगको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । विभागका प्रमुख एवं केन्द्रीय सदस्य गुरु बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ताको स्वास्थ्य र उपभोग्य बस्तुको गुणस्तर सम्बन्धमा कांग्रेसको स्पष्ट नीति आवश्यक रहेको विषयमा छलफल भएको छ ।

खाद्य तथा उपभोग्य सामग्रीहरूको गुणस्तर तथा मापदण्डको बारेमा कांग्रेसले आम नागरिकको हितलाई ध्यानमा राखेर बस्तुको गुणस्तर र मापदण्ड, उपभोक्ता ऐन, नीति, नियम तय गर्न स्पष्ट दृष्टीकोण पनि आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

बरालले उत्पादन र उपभोक्ताका हितका विषयमा कानुनी अप्ठ्यारोहरू के छन्, जोखिमहरू केके छन्, समस्यालाई सम्बोधन गर्दै उपभोक्ताको हक अधिकार संरक्षण कसरी गर्न सकिन्छ भन्ने अभिप्रायले सरोकारवालहरूसँग छलफल गरेको बताए ।

बरालले भने, ‘दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्य वृद्धिले चामल, चिनी, दाल, तेल, माछा–मासु, सागसब्जी तथा फलफूल अत्यधिक महँगिँदा आम उपभोक्ताको भात भान्छा अत्यन्त महँगो भएको छ, यस विषयमा कांग्रेस बेखबर बन्न सक्दैन, सत्ता रहँदा होस् या प्रतिपक्ष रहँदा होस्, कांग्रेसले उपभोक्ताको अधिकार संरक्षणमा, क्षतिपूर्तिको व्यवस्थामा, भएका कानुन कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ, यसैका आधारमा नीति तय गरेर लोक कल्याणकारी समाजवाद उन्मुख संविधानको मर्मलाई लागू गराउन हाम्रो भूमिका रहनेछ ।’

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बजारमा पाइने खाद्य पदार्थ कम गुणस्तरीय र अस्वस्थकर रहेको भन्दै गुणस्तरका बारेमा कांग्रेसले आवाज उठाउनु पर्ने बताए ।
नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार थानीले उपभोक्ताको हित संरक्षण गर्ने सन्दर्भमा राज्यको निर्णय क्षमता कमजोर भएका कारण वितरण प्रणालीमा बेलाबेलामा समस्या आउने गरेको बताए ।

अहिले इन्डक्सन चुलोको प्रयोगले एलपी ग्यास खपतमा कमी आएको बताउँदै थानीले सरकारले उपभोक्ताका हितमा हुने गरी एलपी ग्यासको खपत घटाउन उपभोक्तालाई सहज हुने गरी विद्युत् महसुस र विद्युतीय चुलोको व्यवस्थापन गर्नुपर्ने बताए ।

नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले गुणस्तर कायम राख्न र मूल्य नियन्त्रणका लागि उत्पादनमा सरकारको उपस्थिति हुनु पर्ने बताए ।

‘सरकारको उपस्थिति हुँदैनथ्यो भने अहिले सिटामोलको न्यूनतम मूल्य अहिलेको भन्दा ६ सय गुणामाथि हुन्थ्यो’, न्यौपानेले भने, ‘उत्पादनमा सरकारको उपस्थिति हुनुपर्छ, तरकारी, फलफूल, दूध र खाद्यको विषयमा गुणस्तर कायम गर्न हाम्रो आफ्नो मापदण्ड बनाउनुपर्छ ।’

Published : Thursday, 2024 June 27, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया