पोखरा-भैरहवाबारे प्रदीपको प्रस्ताव प्रचण्डलाई मन परेन, मन्त्रीकै अगाडि झपारे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकहप्ता अगाडि पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री दाहालसँगको छलफलका क्रममा महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा विभिन्न प्रस्ताव अगाडि सारेको उच्च स्रोतले जनाएको छ । तर, दाहालले अधिकारीको योजना र प्रस्तावमा आफूलाई गम्भीर बनाएका छैनन् । प्रधानमन्त्रीलाई पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न नसकेको र भावी कार्यक्रम चित्त बुझ्दो प्रस्ताव राख्न नसकेर आफू तल परेपछि महानिर्देशक अधिकारीले ठूलोठूलो स्वरमा बोलेको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्राधिकरणका कर्मचारीहरूलाई हप्कीदप्की गरेर राखेका महानिर्देशक अधिकारीले अपशब्द बालेको भनेर कर्मचारीहरू दिक्क छन् । तर, केही समय अगाडि अधिकारीले पठाएको खण्डनमा अपशब्द नबोलेको दाबी गरेका थिए । अधिकारीको खण्डनको समाचार प्रकाशित भएपछि कर्मचारीहरूले रिपब्लिका दैनिकमा फोन नै गरेर आपत्ति समेत जनाएका छन् । उनीहरूले आवश्यक पर्दा महानिर्देशक अधिकारीले कर्मचारीहरूलाई अपशब्द बोलेको अडियो र भिडियो उपलब्ध गराउने दाबी गरेका छन् ।

प्रधानमन्त्री दाहालसँगको छलफलमा मन्त्री तामाङ, मुख्यसचिव बैकुण्ठ अर्याल (भ्रष्टाचार काण्डमा निलम्बन हुनुभन्दा अगाडि), पर्यटन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय, राजस्व सचिव डा.रामप्रसाद घिमिरे, श्रम सचिव घनश्याम उपाध्याय, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलगायतलाई बोलाएर गौतम बुद्ध र पोखरा विमानस्थल चलाउने विषयमा छलफल गरेका थिए ।

महानिर्देशक अधिकारीले छलफलको सुरुवातमा पोखरा र भैरहवा विमानस्थल सञ्चालन हुन नसक्नुमा सबै दोष श्रम मन्त्रालयलाई लगाएर चोखिन खोजेका थिए । तर, जति गफ हाकेपनि प्रधानमन्त्री दाहाललाई कन्भिन्स गर्न नसकेपछि त्रिभुवन विमानस्थल आउने सबै विमान कम्पनीलाई बाध्यकारी रुपमा भैरहवा र पोखरा उडान गर्नुपर्ने नियम बनाउन हाँस्यास्पद प्रस्ताव राखेका छन् ।

त्यसै त नियामक र सेवा प्रदायक एउटै संस्था भएको भन्दै युरोपियन युनियन (ईयू)ले नेपाललाई कालोसूचीमा राखिरहेको बेला महानिर्देशक अधिकारीको बकमफुसे प्रस्तावले प्रधानमन्त्री दाहाल र मुख्य सचिव अर्याल चकित परेको स्रोतले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा आउने सबै जहाज कम्पनीलाई भैरहवा र पोखरो विमानस्थलमा जानुपर्ने बाध्यात्मक नियममा ल्याउँदा ती जहाज कम्पनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पनि आउन छोड्ला नी भनेर मुख्य सचिव अर्यालले महानिर्देशक अधिकारीलाई हकारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रधानमन्त्री दाहालसँगको छलफलबाट निस्कने बेला महानिर्देशक अधिकारीले पर्यटनमन्त्री तामाङप्रति आक्रोश पोख्दै आफ्नो बचाउ नगरेको रुष्ट बनेका थिए ।

पर्यटन मन्त्री फेरिने हल्लाले महानिर्देशक अधिकारी मनमनै खुसी भइरहेका बेला प्रधानमन्त्री दाहालले बोलाएर पोखरा र भैरहवा विमानस्थलका बारेमा चासो राखेका छन् ।

हुन त महानिर्देशक अधिकारी तामाङलाई पर्यटन मन्त्रालयबाट फाल्न ठूलो चलखेल गरिरहेको आरोप र चर्चा छ । महानिर्देशक अधिकारीले पर्यटन मन्त्रालय नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठलाई बनाउनेभन्दा पनि नेकपा (एकीकृत समाजवादी)लाई दिएर ल्याउन सकिन्छ की भनेर लबिङमा लागेको चर्चा प्राधिकरणमा छ ।

उता, चिनियाँहरू महानिर्देशक अधिकारीसँग पछिल्लो समयमा रिसाएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्याजको विषयमा चीनले कुटनीतिक चासो देखाउन थालेको छ । अहिलेकै अवस्थामा नेपालले सावाँ र व्याज तिर्न गाह्रो हुने, तात्कालीन योजना प्रमुख अघिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएर डामेको, बयान दिँदा चीनलाई नै दोष थुपारेको विषय चिनिया पक्षलाई टाउको दुखाई भएको छ ।

अख्तियारले बयान लिएर तनाब दिएपछि दिक्क भएका महानिर्देशक अधिकारीले एमालेसँगको पुरानो सम्बन्धलाई नवीकरण गर्न सकिन्छ की भनेर लागेका छन् । गत शनिबार महानिर्देशक अधिकारीले एमालेका अध्यक्ष केपी ओलीबाट सम्मान पनि थापेका छन् । ओलीको हातबाट सम्मान लिन अधिकारीले ठूलै चलखेल गरेको चर्चा छ ।

Published : Thursday, 2024 June 27, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया