पर्वत अस्पताललाई सहयोग जुटाउन बेल्जियममा रहेका नेपालीहरूद्वारा साँस्कृतिक कार्यक्रम

बेल्जियम । पर्वतको अस्पतालमा चाहिने सामग्री जुटाउन अन्तर्राष्ट्रिय पर्वत समाजद्वारा बेल्जियममा च्यारिटी डिनर र साँस्कृतिक साँझ कार्यक्रम गरिएको छ ।

समाजले पर्वत जिल्ला अस्पताललाई आर्थिक सहयोग गर्ने उदेश्यले सोमबार बेल्जियमको लुभेन शहरमा च्यारिटी डिनर तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्ला अस्पतालमा बिरामी कुरुवालाई आवस्यक सामग्री सहयोग गर्ने र संस्थाद्वारा संचालित परोपकारी कामका लागि आवस्यक आर्थिक श्रोत संकलन गर्न भएको च्यारिटी डिनर र सांस्कृतिक साँझमा लोक गायक विष्णु क्षेत्री, सुमी घिमिरे सापकोटा र जीत तिलिजा मगरले मनोरञ्जन प्रस्तुति दिएका छन् ।

करिव ५४ लाख नेपाली रुपियाँ संकलन पनि भएको छ । खर्च कटाएर बाँकी रकम सहयोग गरिनेछ कृष्ण तिवारीले बताए ।

बेनेलक्स एवम् युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, लुभेन नगरपालिकाका मेयर मोहम्मद रिदवानी र अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गुणराज शर्माद्धारा संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

राजदूत राजभण्डारीले नेपालमा गरिने परोपकारी कामका लागि परदेशबाट नेपालीहरूले गरेको सहयोगको प्रशंसा गरेका छन् ।

बेल्जियमको लुभेन नगरपालिकाका मेयर रुदवानीले बेल्जियमको लुभेन शहरमा धेरै देशका मानिसको बसोबास रहेकोमा नेपालीहरूको पहिचान, आर्थिक र सामाजिक योगदान विशेष रहेको बताएका छन् ।

समाजका संस्थापक अध्यक्ष पुरन गिरी, चारभञ्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङ, अन्तर्राष्ट्रिय चारभञ्ज्याङ तमु समाजका अध्यक्ष रिटायर्ड लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङ, तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, संघका पूर्व अध्यक्ष गंगाधर गौतम, पूर्व केन्द्रीय उपाध्यक्ष नारायण आचार्य, समाजका वरिष्ठ उपाध्यक्ष दधि आचार्य, संरक्षक सुरेन्द्र भुषाल, दुर्गाप्रसाद श्रेष्ठ, समाजका सल्लाहकार मनोहरि शर्मा, लाल गुरुङ लगायतले शुभकामना दिएका छन् ।

समाजका प्रमुख संरक्षक झलक केसीले र धन्यवाद ज्ञापन खड्गबहादुर केसीले गरेका छन् । समाजका अध्यक्ष गुणराज शर्माले पर्वत जिल्लामा परोपकारी कामका लागि आवश्यक पर्ने आर्थिक कोषका लागि आयोजना गरेको कार्यक्रम सफल बनाउन बेल्जियममा बसोबास गर्ने सबै प्रवासी नेपालीहरूको सहयोग रहेकोप्रति आभार प्रकट गरेका छन् ।

Published : Thursday, 2024 June 27, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया