एआइजी थापाद्वारा सीमा नाकामा अपराध नियन्त्रणका लागि कडाईका साथ निगरानी र गस्ती गर्न निर्देशन

काठमाडौं । नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक (एआइजी) दीपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ नागरिक केन्द्रीत भई आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

विपदको समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गरी आफू सुरक्षित भई उद्दार कार्यमा खटिनुपर्ने एआइजी थापाले बताए ।

थापाले लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी कटिबद्ध भई लाग्नुपर्ने बताए ।

उनले लागुऔषध कारोबारमा सम्बद्ध जोकोहीलाई कानूनको दायरामा ल्याउन कानून सम्मत कडा रूपमा प्रस्तुत हुनुपर्ने बताए ।

उनले सीमा नाकामा थप कडाईका साथ निगरानी तथा गस्ती बढाउनुपर्ने बताएका छन् । थापाले राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व संकलन वृद्धिको लागि प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट भएका नीति निर्देशनहरू कार्यान्वयन गर्नुपर्ने र प्रहरी संगठनको कार्यसम्पादन स्तर बढाउन प्रहरीको आचरण व्यवहारमा परिवर्तन ल्याउनुपर्ने, अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने तथा प्रहरीको आन्तरिक शुद्धीकरण, स्थायित्व र सुशासनका सन्दर्भमा सकारात्मक उर्जाका साथ लागि पर्नुपर्ने एआइजी थापाले बताए ।

Published : Thursday, 2024 June 27, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया