क्रसर तथा खानी उद्योगहरू नवीकरण गर्न सरकारसँग एमाले सांसद लिम्बूको आग्रह

काठमाडौं । एमालेका सांसद एलपी सावाँ लिम्बूले आन्दोलनरत नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आन्दोलनको मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद लिम्बूले असार १ गतेदेखि क्रसर तथा खानी उद्योगका व्यवसायीहरू आन्दोलनमा रहेको भन्दै सरकारले मागको सुनुवाइ गर्नुपर्ने बताए ।

उनले भने, ‘क्रसर तथा खानी उद्योग व्यवसायीहरू असार १ गतेदेखि मातीघरमण्डलामा आन्दोलनमा छन् । आन्दोलनमा रहेका व्यवसायीहरूको सन्दर्भमा केही विषय संसदमा राख्न चाहन्छु ।’

सांसद लिम्बूले भने, ‘क्रसर तथा खानी उद्योगहरूमा करीव २ खर्ब रुपियाँको लगानी भएको छ । वार्षिक रुपमा भ्याट, रोयल्टी, कर, राजस्व र स्थानीय सरकारमा समेत गरि २५ अर्बभन्दा बढि राजस्व सरकारलाई बुझाइरहेका छन् ।’

‘हामी अहिले लगानी सम्मेलन पनि गरिरहेका छौँ । विदेशी लगानी नेपालमा भित्र्याउनुपर्छ, नेपाललाई समृद्ध बनाउनुपर्छ भनेर लागिरहेका छौँ’, सांसद लिम्बूले भने ।

‘तर, हाम्रै मुलुकका स्वदेशी लगानीकर्ताहरू दैनिक रुपमा आन्दोलनमा उत्रिरहेको स्थिति कहिले अन्त्य गर्ने हो ? आन्दोलनरत क्रसर तथा खानी उद्योगीहरूको आन्दोलनलाई सम्बोधन गर्दै कानून सम्मत दर्ता भइ सञ्चालनमा क्रसर तथा खानी उद्योगहरूले राज्यलाई तिर्नुपर्ने कर, दस्तुरको शुल्क तिरेर तुरुन्तै नवीकरण गरि उद्योगहरू सञ्चालनमा ल्याउनको लागि म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’, लिम्बूले भने ।

क्रसर तथा खानी उद्योग व्यवसायीहरूले नवीकरणको माग गरेर आन्दोलन गर्दै आएका छन् । उनीहरूले राज्यलाई तिर्नुपर्ने दस्तुर तिरेर उद्योग नवीकरण गर्छुभन्दा पनि सरकारले अटेर गरेर उद्योग नवीकरण गर्न नमानेपछि उद्योगीहरू आन्दोलनमा छन् ।

Published : Thursday, 2024 June 27, 3:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया