वीना लामाद्वारा भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिवबारे प्रचण्डको जवाफ माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद वीना लामाले भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्यालको बारेमा प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेकी छिन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसल लामाले बैकुण्ठ अर्याललाई अवकासमा जानुभन्दा ३ दिन अगाडि हतार हतारमा किन मुख्यसचिव बनाइएको हो भनेर प्रश्न गरेकी छिन् । उनले प्रधानमन्त्री दाहालको रोजाइमा परेका मुख्यसचिव बैकुण्ठ अर्यालको विषयमा छर्लङ्ग भएको बताएकी छिन् ।

‘वर्तमान प्रधानमन्त्रीकै नेतृत्वको सरकारले २०८० असोज २४ गतेसम्म पदावधि भएका तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई हुँदै नभएको दरबन्दी सिर्जना गरेर राष्ट्रिय सुरक्षा परिषदको सुरक्षा सल्लाहकार मन्त्री सरहको सुविधा पाउने गरी नियुक्ति दिएर २०८० असार २ गते अवकासमा जान लागेको बैकुण्ठ अर्याललाई २०८० जेठ ३२ गते मुख्य सचिव किन नियुक्ति गरियो ?’, सांसद लामाले प्रश्न गरेकी छिन् ।

‘३ दिनमा राज्यलाई के नोक्सानी हुनेवाला थियो ? र के फाइदा भयो ?’, सांसद लामाले प्रश्न गर्दै भनिन्, ‘त्यसैगरी यो नियुक्ति अस्वभाविक, अनैतिक र शंकास्पद छ भनेर धेरैबाट त्यतिबेला शंकाहरू पनि व्यक्त गरिएका थिए ।’

उनले भनिन्, ‘सरकारले यतिधेरै महत्व दिएका तिनै मुख्यसचिव अहिले भ्रष्टाचार मुद्दामा निलम्बित छन् । अवकास पाउन ३ दिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाउन राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीज्यूको लागि यो नैतिक प्रश्न हो की होइन ?’

‘प्रधानमन्त्रीले संसदमा आएर यसको जवाफ दिनुपर्छ’, राप्रपा सांसद लामाले भनेकी छिन् । उनले प्रधानमन्त्रीको नैतिकतामाथि गम्भीर प्रश्न उठाएकी छिन् । लामाले प्रधानमन्त्री दाहालमाथि प्रश्न उठाएपछि भ्रष्टकर्मचारीलाई कसले किन संरक्षण गर्छन् भन्नेबारेमा पनि संकेत गरेकी छिन् ।

Published : Thursday, 2024 June 27, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया