ओखलढुङ्गामा पहिरोबाट भएको जनधनीप्रति खतिवडाद्वारा दुःख व्यक्त, पुनर्स्थापनाको फाइल हेर्न गृहमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लामा बाढीपहिरोबाट १ जनाको मृत्यु र ३ जना घाइते भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक विशेष समय लिएर बोल्दै खतिवडाले बाढीपहिरोबाट भएको क्षतिप्रति ध्यान दिन आग्रह गरेका छन् ।

सांसद खतिवडाले भने, ‘बाढीपहिरोका कारणले देशभरि धेरै ठूलो जनधनको क्षति भएको छ । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका वडा नं. ५ सेर्नामा ०८१ असार १२ गते गएको पहिरोका कारण राति २ बजे चिसंखुगढी ५ बस्ने देवकुमारी खत्रीको घर बगाएर मृत्युवरण गर्नु परेको छ ।’

‘सोही परिवारका ३९ वर्षीय बाबुराम खत्री, मेनुका खत्री, नवराज खत्री र त्यहाँ कार्यरत नर्सलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएर वीर अस्पतालको ट्रमा सेन्टरमा ल्याएर उपचार गराउने काम भइरहेको छ’, सभापति तिवडाले भने ।

‘बाढीको समयमा बाढीले धनजनको मात्र क्षति पु¥याएको छैन । धेरै बाटोघाटो, खानेपानी, विद्युतका लाइनहरू ध्वस्त बनाएको छ’, उनले भने, ‘समयमा हामीले तिनको व्यवस्थापन गर्न नसक्दा भोलिका दिनमा खानेपानीको असर, विद्युतको असर, सिँचाइको असर स्थानीय लेबलमा पर्ने नै भयो । त्यतातिर सरकारको ध्यान जाओस् भनेर अनुरोध गर्न चाहन्छु ।’

खतिवडाले भने, ‘यस्तो विपतको बेलामा तुरुन्त उद्धार गर्न सहयोग गर्नु हुने स्थानीय गाउँपालिका ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालय, त्यहाँको प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरीलाई म धन्यवाद दिन चाहन्छु र समयमा हेलिकप्टर उपलब्ध गराउने विपत् प्राधिकरण, गृह मन्त्रालय र नेपाली सेनालाई धन्यवाद दिन चाहन्छु ।’

‘जसका कारणले हामीले बीर अस्पतालमा ल्याएर आइसीयुमा उपचार गरेर स्वास्थ्य राम्रो भइरहेको छ’, उनले भने ।

‘गत वर्ष पनि ओखलढुङ्गामा ४ जना असार ४ गतेका दिन बाढीले मृत्युवरण गर्नु परेको थियो बिलन्दु भन्ने ठाउँमा असार ७ गते ओखलढुङ्गामा । रणबहादुर गुरुङ, शिवमाया गुरुङ, दिनेश गुरुङ र कीर्तिमा गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । झण्डै २३ घरधुरीमा क्षति भएको थियो । १ सय ५० भन्दा धेरै घरधुरीहरू विस्थापित हुनु परेको थियो’, खतिवडाले भने ।

‘१ वर्षसम्म गृह मन्त्रालयको विपत् प्राधिकरण अन्तर्गत हुने काममा अहिलेसम्म केही भएको छैन । ती घरहरूलाई व्यवस्थापन गर्न र विपतबाट पीडितहरूलाई स्थान्तरण अथवा पुनर्वासको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्दछु’, सभापति खतिवडाले भने ।

‘१ वर्ष अगाडि ओखलढुङ्गा, ताप्लेजुङ लगायतका जिल्लामा भएका विपतका फाइलहरू गृह मन्त्रालयमा थन्किएर बसेका छन्’, उनले भने, ‘म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु तपाई धेरै फाइल धेरै हेरिरहनुभएको छ ।’

‘कमसेकम विपतमा परेका फाइलहरू ती जनालाई राहत दिने फाइलहरू पुनर्स्थापना गर्ने फाइलहरू ती फाइलबाट जनतालाई राहत हुन्छ भने त्यस्ता फाइलतिर पनि गृहमन्त्रीको ध्यान जाओस् भनेर अनुरोध गर्न चाहन्छु’, उनले भने ।

‘यस विपत घडीमा सम्पूर्ण जिल्लाबासी र देशबासीलाई एकताबद्ध भएर विपतको सामना गरेर आफ्ठ्यारो परेका बेला सबैलाई सहयोग गर्न अपील पनि गर्दछु’, सभापति खतिवडाले भने ।

Published : Thursday, 2024 June 27, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया