बोर्डको अध्यक्ष बन्न २ सय करोडबारे कांग्रेसको खुलासापछि खैलाबैला, रद्द गर्न राय

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बनाउन बिचौलियाहरू २ सय करोड बोकेर हिँडेको आरोप लागेका बेला महान्यायाधिवक्ता कार्यालयले २ वटा सुझाव दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयले कानूनअनुसार प्रक्रिया मिलाएर ३ जनालाई सिफारिस गर्नुपर्ने र त्यसो हुन नसके रद्द गर्न सकिने राय दिएको छ ।

दुई दिन अगाडि प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री वर्षमान पुनलाई प्रश्न गर्दै नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले धितोपत्र बोर्डको अध्यक्ष बन्न र बनाउन बिचौलियाहरू २ सय करोड बोकेर हिँडेको भन्दै गम्भीर कुरा उठाएका थिए । जवाफमा अर्थमन्त्री पुनले अध्यक्ष बनाउन नियम र कानून सम्मत हुने बताएका थिए ।

आवेदनमध्ये ३ जना सिफारिस गर्नुपर्ने व्यवस्था ऐनमा रहेकाले अध्यक्षमा २ जना मात्र सिफारिस गर्न नमिल्ने महान्यायाधिवक्ता कार्यालयको राय छ ।

मंगलबार महान्यायाधिवक्ता कार्यालयले कि ३ जना पठाउने र त्यसो हुन नसके प्रक्रिया रद्द गर्न सुझाएको छ ।

धितोपत्र ऐनको व्यवस्थाअनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको अध्यक्ष छनोट सिफारिस समितिले असार २ मा सर्ट लिस्टमा परेका ५ जनालाई कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाएको थियो ।

त्यस दिन जम्मा दुई जना सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र उपस्थित थिए । अनुपस्थित बाँकी तीन जना कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंका लागि गत बुधबार (असार ५ मा) बोलाइएको थियो ।

त्यसपछि पनि बाँकी तीन जना प्रतिस्पर्धी कार्यपत्र प्रस्तुति तथा अन्तर्वार्तामा उपस्थित नभएपछि बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया झनै अन्योलमा परेको छ ।

Published : Wednesday, 2024 June 26, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया