वन पैदावार शुल्क खारेजी र सहुलियतमा काठ दाउरा बिक्री गर्न दिनुपर्छ : प्रमुख सचेतक तिमिल्सिना

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बर्दिया जिल्लाका ८ जना माननीयहरूको कमजोरी भएका कारण जिल्लामा बजेट पर्न नसकेको बताएका छन् ।

मंगलबार मसुरियामा बसेको लुम्बिनी प्रदेशसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै तिमिल्सिनाले बर्दियाको जिल्ला अस्पताललाई बजेट पर्न नसकेको बताए । अघिल्लो सरकारले दिएको बजेट पनि कटौति भएको उनले बताए ।

‘सामुहिक रुपमा विकास गर्नेबारेमा हामी सबैको ध्यान दिनुपर्छ । स्वास्थ्यमन्त्री युद्धबाट आएको, तपाईको ध्यान सिकलसेल रोगमा जानुपर्ने थियो । तर, गएन’, उनले भने, ‘थारु समुदायमा लाग्ने, बिकराल, सबैभन्दा ठूलो समस्याको रुपमा रहेको सिकलसेल रोग छ । त्यसलाई निराकरण गर्न सक्ने एउटा प्रादेशिक हस्पिटल स्थापना गर्नुपर्छ भनेर सोँचेको थिएँ । त्यो हुन सकेन ।’

उनले भने, ‘वन पैदावार शुल्क खारेज गर्नुपर्छ । कानून बनाएर सहुलियत दरमा काठ दाउरा बिक्री गर्न पाउनुपर्छ ।’

तिमिल्सिनाले बर्दियाको खोल्साखोल्सी र नदी बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको भन्दै मानवीय सुरक्षाका लागि आग्रह गरेका छन् । उनले बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा क्षेत्रमा बाघबाट हुने आक्रमण, जनधनको क्षतिप्रति बन मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

Published : Tuesday, 2024 June 25, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया