स्वास्थ्यको बजेटमा तेस्रो पक्ष संलग्न भएको अनुभूति भयो : पूर्व स्वास्थ्यमन्त्री खनाल

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री राजु खनालले अहिलेको बनेको बजेटमा जुन विनियोजन देखिएको छ त्यसले जनताको स्वास्थ्य सेवालाई सम्बोधन गर्न सक्छ कि सक्दैन भनेर आशंका गरेका छन् ।

मंगलबार मसुरियास्थित लुम्बिनी प्रदेशसभा भवनमा बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै खनालले भने, ‘यो बजेट निर्माणको क्रममा त्यसभित्र रहेका अनुभवी कर्मचारीहरू, मन्त्रीजी स्वयं र केही व्यक्तिहरूको सल्लाह भएन की जस्तो लाग्छ ।’

‘या तेस्रो पक्षमा त्यसमा संलग्न भएको अनुभूति यो बजेटले हामीलाई दिइरहेको मैले महशुस गरिरहेको छु’, खनालले भने, ‘योभन्दा अगाडि सञ्चानमा रहेका केही कार्यक्रमलाई निरन्तरता दिनुभएको छ त्यसका लागि धन्यावाद दिन चाहन्छु ।’

उनले भने, ‘हामीले नै सुरुवात गरेको ६० वर्ष उमेर पुगेका स्वास्थ्य स्वयम् सेविकाहरू हुनुहुन्थ्यो । उहाँहरूलाई विदाइको बेलामा ५० हजारसहित सम्मान गर्ने कार्यक्रम विगत सरकारले ल्याएको थियो । त्यसलाई निरन्तरता छ ।’

‘आँखाको नानी गुमाएका व्यक्तिहरू निःशुल्क उपचार र अप्रेशन गर्ने कार्यक्रम । क्यान्स, मिर्गौला, मुटुको भल्व फेर्न दिइँदै आएको दुई लाखको सहयोग निरन्तरता दिनुभएको छ’, खनालले भने, ‘सामुदायिक विद्यालयमा किशोर किशोरीहरूको रक्तअल्पता परीक्षणलाई बजेट अभाव भएको जस्तो मैले महशुस गरेको छु ।’

खनालले भने, ‘कार्यक्रमहरू जनसमुदाय केन्द्रित हुनुपर्नेमा अधिकांश कार्यक्रमहरू गोष्टि र तालिमतिर बजेट विनियोजन भएको देखिन्छ ।’

‘तालिमतिर मात्रै १ करोड ९५ लाख बजेट विनियोजन भएको छ । यो स्वास्थ्य मन्त्रालयको बजेट कुनै पनि अस्पताल सुधारका कार्यक्रम, कुनै स्वास्थ्य संस्थाहरूलाई सुदृढ गर्ने कुराहरू समावेश गरिएको छैन’, उनले भने, ‘खाली तालिम र गोष्टि, पोषण तत्व बाँड्ने, केही भ्याक्सिनहरूको विषय उठाइएको छ ।’

पूर्वस्वास्थ्यमन्त्री खनालले भने, ‘सिकलसेल एनिमियामा बजेट गम्भीर छैन । यो थारुहरूको क्षेत्र पनि हो । थारुहरूको अधिकार पनि हो । अधिकांश थारुहरू यो ठाउँमा बसोबास गर्छन् । बंशाणुगत रोगको रुपमा रहेको थारुहरूलाई मात्रै रोग भएका कारणले यो बजेट गम्भीर हुने सकेको छैन ।’

Published : Tuesday, 2024 June 25, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया