कांग्रेसका खतिवडाले नारायणकाजी-प्रचण्डबारे प्रश्न उठाएपछि एमालेका पन्तले समर्थन गरे

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालयको जवाफ असम्बन्धित मन्त्रीले दिन खोजेपछि विरोध जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्र मन्त्रालयका विषयमा विनियोजन विधेयकको छलफलका क्रममा उठेका प्रश्नको जवाफ सिँचाइ, उर्जा तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले दिन खोजेपछि कांग्रेका खतिवडाले विरोध गरेका हुन् । खतिवडाले विरोध गर्दै परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै जवाफ दिनुपर्ने माग राखेपछि सोहीअनुसारको व्यवस्था भएको छ ।

कांग्रेसका खतिवडाले कुरा राखेपछि एमालेका सांसद रघुजी पन्तले पनि समर्थन जनाएका छन् । त्यसपछि सभामुखले परराष्ट्र मन्त्रालयको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाएका छन् ।

कांग्रेसका सांसद खतिवडाले भने, ‘बिहान सभामुखले परराष्ट्र मन्त्रीको कार्यभार सम्माननीय प्रधानमन्त्रीले सम्हालेको यहि सदनमा पढेर सुनाउनुभयो । कार्यभार एउटाले सम्हाल्ने, जवाफ अर्कोले दिने कुरा मिल्ला ?’

‘बिहान कार्यालयमा आएर, यहाँ संसदमा आएर कार्यबाहक सम्हालेको प्रधानमन्त्रीले आएर जवाफ दिए अझै राम्रो हुने थियो भन्ने मलाई लाग्छ’, उनले भने ।

‘त्यसैले प्रधानमन्त्रीले नै जवाफ दिने गरि यो विनियोजन विधेयकको प्रसङ्गलाई भोलितिर प्रधानमन्त्रीले जवाफ दिने गरी परराष्ट्र मन्त्रालयको रुपमा अगाडि बढाइयोस् भन्ने मेरो आग्रह छ’, खतिवडाले भने ।

एमालेका सांसद पन्तले भने, ‘विनियोजन शीर्षकमा सम्बन्धित मन्त्रालयमा वर्षको एकचोटी हुन्छ । मन्त्रालयमा बृहत छलफल गर्ने बेला भनेको विनियोजन शीर्षकमा मात्रै हो ।’

‘हामी संसदीय प्रणालीमा छौँ । संसदलाई मन्त्रीहरूले सकेसम्म रेस्पेक्ट गरेको देखिनुपर्छ । व्यवहारमा देखिनुपर्छ’, उनले भने, ‘परराष्ट्र मन्त्रालयमा उठेका जवाफ सबैभन्दा राम्रो त सम्बन्धित मन्त्री उपस्थित हुँदा हुन्थ्यो ।’

एमालेका सांसद पन्तले भने, ‘परराष्ट्र मन्त्रीको रुपमा उहाँले कार्यभार सम्हाल्दा उहाँले नेपालको वर्तमान परराष्ट्र नीतिलाई कसरी अगाडि बढाउने कुरा उहाँले सोँच्नु भएको छ ? भन्ने कुरा न प्रधानमन्त्रीले दिन सक्नु हुन्छ । न अरु मन्त्रीले दिन सक्छन् ।’

पन्तले भने, ‘अरु संसदीय प्रणाली भएका देशमा संसद चलिरहेको छ र जवाफ दिने दायित्व छभने सम्बन्धित मन्त्री विदेशबाट पनि हतार हतार स्वदेश फिर्किएर संसदलाई जवाफ दिन आउँछ । यद्यपि, कानूनी र नियमसँगत रुपमा कार्यभार सुम्पिसकेपछि सम्बन्धित मन्त्रीले नै हो जवाफ दिने ।’

एमालेका सांसद पन्तले भने, ‘कार्यबाहक जसलाई दिएको हो उसले जवाफ दिन पाउँछ । तर, संसद र लोकतन्त्रको स्प्रिटलाई हामीले ध्यानमा राख्नुपर्छ । प्रतिपक्षको सांसदले जे उठाउनुभयो, फेरि असम्बन्ति मन्त्रीले जवाफ दिने कुरा उपयुक्त हुँदैन ।’

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा उडेका छन् । कार्यक्रममा भाग लिन भन्दै आफ्नै मन्त्रालयको विनियोजन विधेयकमाथि उठेको जवाफ सदनमा दिने बेला विदेश उठेपछि समस्या भएको छ ।

Published : Tuesday, 2024 June 25, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया