सचेत गराएपछि सच्चिने दायित्व सरकारको हो, जनताप्रति जवाफदेही हुनुपर्छ : जन्मजय तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सदस्य एवम् प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बजेटप्रति आलोचना गर्दै प्रदेश सरकारलाई सुध्रिन सचेत गराएका छन् ।

सोमबार लुम्बिनी प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै तिमिल्सिनाले प्रदेशसभा सदस्यहरूले दिएको सुझाव र सल्लाहलाई सरकारले ग्रहण गर्नुपर्ने बताए । उनले सरकारलाई सच्चिन र जवाफदेही बन्न सकेत गराएका छन् ।

उनले भने, ‘हामी माननीयको अधिकांश काम यो सदनमा चिच्याउने र चिच्याउनुको अर्थ के हो भने हामी सचेत गराउने हो नी त ? सचेत गराइसकेपछि सच्चिने दायित्व कसको हो ? सरकारको हो की होइन ? सच्चिनु पर्ने हो की होइन ? चाहे त्यो हिजोको सरकार होस्, चाहे आजको सरकार होस् । सच्चिनुपर्ने पर्छ की पर्दैन ? यसको जवाफदेहिता हुनुपर्छ की पर्दैन ? यो कुरा मनन गर्नुपर्ने महत्वपूर्ण पार्ट हो । हामी सच्चिएर जाऔँ ।’

‘आदिवासी, जनजाति, दलित लगायत लक्षित वर्गलाई बजेटमा समेट्न नसकेको कुरा हामीले उठाएका थियौँ । र, कृषिलाई राम्रोसँग समेट्न सकेनौँ भन्ने कुरा पनि उठेका छन् । हामीसँग अर्थमन्त्रीले जसरी प्रतिवद्धता जाहेर गर्नुभएको छ भोलिका दिनमा त्यसैगरी कार्यान्वयन गर्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । त्यो विश्वास नटुटोस्’, उनले भने ।

‘हामी किसानका छोरा, वर्षामा कुलोमा पानी लगाउन जाँदा सबैले पानी आफ्नै खेततिर पानी लगाउन पाए हुन्थ्यो भन्ने परपाटीबाट हामी हुर्केका हौँ । बजेटले पनि त्यहि संकेत दिएको छ’, प्रमुख सचेतक तिमिल्सिनाले भने ।

‘मन्त्रीजीहरूले आफ्नै वडामा बजेट लिन पाए हुन्थ्यो, आफ्नै क्षेत्रमा बढि बजेट लिन पाए हुन्थ्यो । आफ्नै भेगमा बढि बजेट लिन पाए हुन्थ्यो भन्ने अनुभूति यो बजेटले संकेत गरेको छ’, तिमिल्सिनाले भने ।

उनले भने, ‘बाँके, बर्दियाका माननीयहरू हामी कहिँ चुकेका छौँ जस्तो मलाई लागेको छ । चार जना त मन्त्री पनि हुनुहुन्छ । २१ जना माननीयलाई झण्डै ६ अर्ब पैसा बाँके र बर्दियालाई गएको छ ? गएको छैन ।’

‘मेरो पनि कमजोरी छ । म त्यहाँको नेतृत्व गर्ने भएको कारणले, मलाई त्यहाँको जनताले जिताएको कारणले, त्यहाँका जनताको जिम्मेवारी लिएर घोषणापत्रमा उल्लेख गरेको प्रतिवद्धताका साथ म कार्यान्वयन गर्छु भनेर आएको थिएँ । हामीले सकिरहेका छैनौँ’, तिमिल्सिनाले भने ।

‘तपाई हामी आफ्नो क्षेत्रको विकासका लागि एक ठाउँमा बस्न सकेनौँ भने यहि हालत हुन्छ । पहुँचवालामा बजेट जाँदो रहेछ भन्ने देखिन्छ’, उनले भने ।

उनले भने, ‘मलाई बजेट दिन भयो वा दिनु भएन त्यो प्रमुख विषय होइन । मलाई स्वास्थ्यमन्त्रीले बजेट दिनुभएको छैन, उहाँसँग मेरो कुनै गुनासो छैन, भन्दा पनि भन्दैन । कुरा के हो भने बजेट जनताको पक्षमा भयो की भएन ? रातो किताब छाप्दै गर्दा जनताको पक्षमा छाप्न सक्यौँ की सकेनौँ ? त्यतातिर सरकारले ध्यान दिनुपर्छ ।’

‘ठाकुरद्वारा मन्दिरलाई तपाईले यो पर्यटकीय क्षेत्र बर्दिया जिल्लाको पर्यटकीय क्षेत्र बर्दियाबाट धेरै राजस्व उठाउन सकिने क्षेत्र बर्दिया ठाकुरद्वारा हो त्यो मन्दिरलाई गौरवको आयोजनामा समावेश गरिदिनु होला भनेको थिएँ २० लाख रुपियाँ हाल्नुभएको छ । सुरुवात भएको छ’, तिमिल्सिनाले भने ।

उनले भने, ‘एकजना द्वन्द्वकालमा गोली लागेर, टाउकोमा अहिले पनि गोली छ, किरण यो । भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरी र जन्मजय तिमिल्सिना बर्दियाका केही माननीयज्यूहरूलाई फेसबुकमा स्टाटस आएको छ । तपाईहरू कुर्सीमा बसिराख्नुस् । आफ्नो खल्ती भरिराख्नुस् । आफ्नो लागि मात्रै गर्नुस्, आफ्नो आसेपासेलाई मात्रै गर्नुस् । हिजो द्वन्द्वकालमा गोली लागेका बारेमा यो बजेटले सम्बोधन गरेन भनेर स्टाटस आएको छ । यो बोल्ने अधिकार छ । नेविसंघमा २०४५ सालदेखि सक्रिय व्यक्तिलाई सकिन्छ भने बजेटमा व्यवस्था गरिदिनुस् ।’

प्रदेशसभा सदस्य तिमिल्सिनाले बर्दिया जिल्लाको बाराबर्दिया नगरपालिका निवासी करण परियारलाई नेपाल आइडल सिजन ५ का विजेता भएकोमा बधाइ दिएका छन् । उनले परियारलाई भविष्यको लागि शुभकामना पनि दिएका छन् ।

Published : Tuesday, 2024 June 25, 10:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया