बजेटले घोराही र बंगलाचुलीलाई देखेन, कमजोरीलाई सुधारौँ : राजु खनाल

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सदस्य राजु खनालले बजेटमा धेरै कमीकमजोरी रहेको भन्दै सम्भव छभने सुधार गरेर जान प्रस्ताव गरेका छन् ।

सोमबार बसेको लुम्बिनी प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै खनालले कृषि क्षेत्रको बजेट कटौती गरेर गोष्टि, तालिम, सेमिनार, डीपीआर जस्ता कार्यमा बजेट राखेको भन्दै विरोध गरे । उनले मल, बीउ, कुखुरा, दुध लगायतका व्यवसायीलाई सम्बोधन गर्न नसकेको भन्दै विरोध गरेका छन् ।

खनालले आफ्नो दाङ क्षेत्र नं. २ (१)मा बजेट धेरै कटौती भएको भन्दै विरोध गरे । उनले बजेट छुट्टाइएको अवस्थाले प्रतिपक्ष मात्रै होइन सत्तापक्षकै सांसदहरू पनि असन्तुष्ट रहेको बताए ।

उनले भने, ‘मन्त्रीको चेयरमा बसेको बाहेक, सत्तापक्ष हेर्छु, प्रतिपक्ष हेर्छु सबैको एउटै आवाज छ । मन्त्रीहरूले कार्यक्रमहरू आफ्नो क्षेत्र केन्द्रित बनाएर जानुभएको छभन्ने कुराहरू आएको छ ।’

‘त्यसको केही अनुभूति मैले पनि गर्न पाएको छु । अहिले भौतिक मन्त्रालय अतर्गत मेरो निर्वाचन क्षेत्र दाङ क्षेत्र नं. २ (१)मा भौतिक मन्त्रालयअन्तर्गत अत्यन्तै उहाँले कृपा गरेर १८ लाखेको एउटा कार्यक्रम राखिदिनु भएको रहेछ’, खनालले भने ।

‘दाङको २ (१)भित्र सबैभन्दा बिकट पहाडी पालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिका पनि पर्छ भन्ने हेक्का कमसेकम मन्त्रीजीले राखेर त्यो भेगमा चलिरहेका कयौँ कार्यक्रमहरू आजको मितिसम्म त्यहाँ काम भइरहेका छन् । कयौँ वर्षसम्म करोडौं लगानी लगाएर सरकारले ती कार्यक्रमहरू गरिरहेको छ’, उनले भने ।

‘उहाँले जिरो बजेट राखिदिएको कारणले ती कार्यक्रम जीवित छन् की मृत्यु भइसकेका छन् भन्ने कुरामा मैले यो सदनमा के भनेर सम्बोधन गर्ने ? हाम्रा मन्त्रीजीले पनि ती कार्यक्रम जीवित राख्नको लागि दुई हजारका बजेट जीवित राख्नको लागि बजेट राख्नु परेको बाध्यता पनि सुनाउनुभएको छ’, खनालले भने ।

‘त्यो क्षेत्रका योजनाहरू जुन राज्यको करोडौं रुपियाँ राज्यको लगानी पनि लागिसकेको छ । अहिले तिनको मृत्यु भएको छ । यसलाई जीवित गराउने हो की मृत्यु गराएर जाने हो ? त्योबारेमा ख्याल गर्नको लागि आग्रह छ’, खनालले भने ।

खनालले घोराही र बंगलाचुलीमा बजेट विनियोजनमा ठूलो अन्याय भएको बताए ।

‘घोराही बजारमा ढलको व्यवस्था राम्रो नभएका कारण खानेपानी १ घण्टा आयो भने डुबान हुने अवस्था छ । केही दिन अगाडि १ घण्टा पानी आउँदा मोटरसाइकलहरू डुबेका, मान्छेको घुँडासम्म पानीले भिजेर बजार क्षेत्रमा हिँडेको देखेका थियौँ’, उनले भने ।

‘त्यसलाई कमसेकम तल पनि नाला बनेको छ, माथि पनि नाला बनेको छ । मूल बाटोमा नालाको व्यवस्थापन हुन नसक्दा पानीको निकास गर्न नसक्दा बजारभित्र छिरेर कयौँ व्यवसायीहरूको व्यवसायमा क्षति भइरहेको छ’, खनालले भने ।

‘त्यो विषयमा पटक पटक सहरी विकास मन्त्रालयमा कुराहरू उठायौँ । सम्बन्धित कार्यालयको माध्यमबाट सम्पक गरेका छौँ । त्यो मागको सम्बोधन भएको देखिएन’, खनालले भने ।

‘खानेपानीको सम्बन्धमा ८० प्रतिशत काम सम्पन्न भएका योजनाहरूमा हामीले सम्पन्न गर्ने गरेर अगाडि बढाएका छौँ भन्नुभएको छ’, उनले भने, ‘६० प्रतिशत काम सम्पन्न भएका, राज्यको लगानी लागेका ती योजनाहरूमा जिरो बजेट राख्दा अब त्यो जीवित रहन्छ की मृत्यु हुन्छ ?’

खनालले भने, ‘हामीले पर्यटन, कृषि र उद्योगलाई प्राथमिकता दिन सक्यौँ भने मात्रै यो क्षेत्रको सोँचेअनुसार काम गर्न सक्छौँ । लुम्बिनीमा धेरै सम्भावना छ । पर्यटनको लागि पनि अत्यन्त उपयुक्त क्षेत्रका लुम्बिनी, स्वर्गद्वारी लगायत धेरै तीर्थस्थल छन् । भारतीय मात्रै होइन तेस्रो मुलुकबाट पनि पर्यटक आएर धार्मिक पर्यटनको रुपमा अगाडि लगेर जान सकिन्छ ।’

Published : Tuesday, 2024 June 25, 9:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया