एसपी, एसएसपीको सरुवा, केपीबाको जग्गा घोटालाबारे कांग्रेसको प्रश्नले लल्याकलुलुक भए लामिछाने

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गिरिबन्धु टि इस्टेट जग्गा घोटाला प्रकरणमा सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न किन आलटाल गरेको भनेर प्रश्न उठाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा खतिवडाले गृहमन्त्री लामिछानेलाई गिरिबन्धु टि इस्टेट जग्गा घोटाला प्रकरणमा एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीसहितको समूहलाई बचाउन खोजेको भनेर प्रश्न उठाएका हुन् । ओलीको नाम नलिएर खतिवडाले गृहमन्त्री लामिछानेलाई सर्वोच्चको फैसला कार्यान्वयन गर्नुको साटो उजुरी माग गरेर के रमिता गरेको हो भनेर प्रश्न गरेका छन् ।

खतिवडाले भने, ‘सर्वोच्चले पूर्णइजलासले गरेको फैसलालाई फेरि उजुरी माग्ने भनेर गृहमन्त्रीले सदनमा जवाफ दिनुभयो, गिरिबन्धु टि इस्टेटको बारेमा । सर्वोच्चको फैसला कार्यान्वयन गर्दा अर्को उजुरी माग्नु पर्छ ?’

खतिवडाले भने, ‘अनि गृहमन्त्रीज्यू तपाईले सरुवा गरेका प्रहरी अधिकृतलाई मापदण्ड प्रयोग गर्न भन्नुभयो काठमाडौंका एसएसपीलाई ७ महिना पनि नपुगिकन सरुवा गर्नुभयो । त्यहि थियो मापदण्ड ? प्रदेश २ (मधेश प्रदेश)का एसपीलाई ५२ दिनको दिन सरुवा गरिएको छ । मापदण्डअनुसार नै गरिएको हो ?’

‘अरुले सरुवा गर्दा व्यक्तिगत इन्ट्रेस्टमा हुने ? हजुरले सरुवा गर्दा प्रक्रियाअनुसार हुने यो पद्धति गृह मन्त्रालयमा कहिलेदेखि लागू भयो ?’, खतिवडाको प्रश्न छ ।

‘त्यति मात्रै होइन, १ हप्तामा सबै मुद्दाफाँटका प्रहरीहरूलाई सरुवा गर्नुभन्ने व्यक्ति निर्देशन गयो भन्ने सन्नमा आएको छ यो सत्य हो की होइन ? त्योबारेमा पनि जवाफ दिनु होला’, गृहमन्त्री लामिछानेलाई सांसद खतिवडाले प्रश्न गरेका छन् ।

‘त्यति मात्रै होइन भागबण्डा गर्दैनौँ भनेर हिजो कसम खाएर संसदमा छिरेको रास्वपा आज राजदूत नियुक्तिमा बिलो चाहियो भन्दै हिँडेको छभन्ने चर्चामा आएको छ यो सत्य हो की होइन त्यसको जवाफ चाहन्छु धन्यावाद’, कांग्रेसका सांसद खतिवडाले भने ।

गृहमन्त्री रवि लामिछानेले भने, ‘गिरिबन्धु जग्गा फैसलाको अध्ययन आवश्यक छ । फैसला कार्यान्वयनको क्रममा त्यो अध्ययन हुन्छ । म तपाईलाई जानकारी गराउन चाहन्छु । अदालतको आदेशको अक्षरंशपालना हुने कुराको पनि जानकारी गराउन चाहन्छु यहाँलाई ।’

‘यहाँ चाहिँ के सुनिएको छभने कतिपय मान्छेहरूले भुक्तानी लिएको, किन्नका लागि बयाना दिइएको जस्ता ठगीमा परेको कुरा आएको सन्दर्भमा चाहिँ मैले भनेको हो, त्यस्ता मान्छेको’, लामिछानेले भने, ‘अदालतको आदेशको पालना हुन कुरामा दुईमत हुने कुरै रहेन । त्यसबाहेक पनि तपाई, हामीले सुन्दै आएको विषय हुनाले जो कोही पनि पीडित हुनुहुन्छ उहाँहरूलाई ठगिएको, बयाना लिइएको, आफ्ठ्यारोमा परेको जस्तो कुराहरू आएका छन्, त्यसको सन्दर्भमा मात्रै मैले थप कुरा बताएको हो, केन्द्रीय अनुसन्धान व्यूरोलाई यसबारे भनिसकिएको छ, त्यस कारण यो कुरा स्पष्ट बनाएँ ।’

गृहमन्त्री लामिछानेले भने, ‘अर्को कुरा विधि र प्रक्रियाअनुसार नै प्रहरीको सरुवा, बढुवा नियमित प्रक्रिया नै हो । म दोहोर्‍याएर के भन्छु भने गृहमन्त्रीको रुपमा मेरो कुनै चासो छैन ।’

‘तर, योग्य व्यक्ति सहि ठाउँमा हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राख्दै कहिले काहिँ आवश्यक्ताका आधारमा कतिपय क्षमतावान साथीहरूलाई भौगोलिक हिसाबले चुनौतीका हिसाबले उहाँहरूको अध्ययनका हिसाबले उहाँहरूका रुचिका हिसाबले ज्ञानका हिसाबले गृह मन्त्रालयका हिसाबले र विभिन्न तत्कालीन देखिएका अनुसन्धानमा देखिएका तत्कालीन चुनौतीका हिसाले कहिले काहिँ त्यस्तो अवस्थामा साटफेरहरू हुने गर्दछन्’, गृहमन्त्री लामिछानेले एसएसपी र एसपीहरूको समय नपुगेर ५२ दिनमा सरुवा गरेको खतिवडाको प्रश्नबारे जवाफ दिएका छन् ।

‘तर, कुनै चासोका लागि, गरिएको अथवा गरिने विषय होइन भन्ने कुरा मैले माननीयज्यूलाई स्पष्ट गराउन चाहेँ यसमा’, गृहमन्त्री लामिछानेले भने ।

कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशान समितिका सभापति समेत रहेका खतिवडाको प्रश्नबारे गृहमन्त्री लामिछानेले चित्त बुझ्ने वा तर्कपूर्ण जवाफ दिन सकेका छैन । लामिछानेले खतिवडाको प्रश्नबारे गोलमटोल जवाफ दिएका छन् ।

गृहमन्त्री लामिछानेले प्रहरीभित्र निकै हस्तक्षेप बढाएका छन् । उनले आफू निकटका र विवादित ईन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी, डीआइजी, एआइजीहरूलाई सरुवा र अकर्षक ठाउँ दिने कार्य गरेका छन् ।

गिरिबन्धु टि इस्टेटको जग्गा घोटाला प्रकरणमा एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री ओली अर्थात् केपी’बा माथि गम्भीर प्रश्न उठेका छन् । केपी’बालाई बचाउन गृहमन्त्री लामिछाने लागेको आरोप छ ।

Published : Monday, 2024 June 24, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया